विश्व

विवादित भारतीय सेनाध्यक्ष नेपाल भ्रमणमा आउँदै

file photo

काठमाडौं । दुई मुलुकबीच सीमा विवाद चर्केको समयमा विवादित अभिव्यक्ति दिएका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभाने नेपाल भ्रमणमा आउने भएका छन् । उनी आगामी महिना नेपाल भ्रमणमा आउने तय भएको नेपाली सेनाले जनाएको छ । दुई मुलुकबीचको विवाद उत्कर्षमा रहेका बेला हुने लागेको यो उच्च तहको भ्रमण समेत हो ।

भारतीय सेना प्रमुखलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि दिने प्रचलन रहेको छ । सोही सिलसिलामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । सेना प्रमुखको पदभार सम्हालेपछि एक अर्काको मुलुकको भ्रमण गरेर मानार्थ महारथीको उपाधि दिने प्रचलन दुबै मुलुकका सेनाबीच रहेको छ ।

नोभेम्बर २०१९ मा भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समावेश गरेर नयाँ नक्सा जारी गरेयता नै दुबै मुलुकबाट उच्च स्तरको भ्रमण हुन पाएको छैन । यसबीचमा दुई प्रधानमन्त्रीले टेलिफोनमा वार्ता भने गरेका छन् ।

नेपाल भारत सीमा विवादका बेला सेना प्रमुख नरभानेले लिपुलेकमा विगतमा कुनै समस्या नभएको र यो मुद्दा नेपालले कसैको इसारामा उठाएको बताएको थिए ।