विश्व

विदेशमा कति नेपालीलाई भयो कोरोना संक्रमण, यो साता कति थपिए ?

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार इजरायलमा थप १ जना नेपालीको संक्रमणबाट मृत्यु भएको हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले विदेशमा विगत ९ महिनामा १९ देशका २ सय ८३ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । यो साता भारत, कतार, जापान, दक्षिण कोरिया, साइप्रसमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो ।

गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा हिजो शनिवार साँझसम्म ४२ देशका ४२ हजार १ सय जना नेपाली कोरोना संक्रमित भएका थिए । तीमध्य ३८ हजार ६ सय ४६ जना नेपालीहरु संक्रमण मुक्त भएका छन् । संक्रमित नेपाली मध्य ९१ प्रतिशत जति संक्रमण मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

यस्तै नेपालमा मात्र १ लाख २९ हजार ३ सय ४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन भने ती मध्ये ८९ हजार ८ सय ४० जना कोरोना मुक्त भएका छन ।

यो कुल संक्रमितको ६९ दशमलव ५ प्रतिशत हो । हालसम्म नेपालमा ७ सय २७ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

नेपाल सहित विश्वभर १ हजार १० जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको छ ।