मनोरञ्जन

देशबासीलाई प्रधानमन्त्रीको सम्बोधन, सजग भएर दशैं मनाऔं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको त्रासका बीच सचेत र सजग भएर दशैं मनाउन देशबासीलाई आह्वान गरेका छन् । शुक्रबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले कोरोना संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध भने सरकारले गर्ने दाबी गरे ।

कोरोना भाइरसका कारण दसैं विगतभन्दा फरक तरिकाले मनाउनु परेको उनको भनाई छ । मान्यजनसँग टीका जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिँदा हुनसक्ने सम्भावित संक्रमणको जोखिमलाई ख्याल गर्न उनले सजग गराएका छन् ।

प्रधानमन्त्रीले ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिहरुमा संक्रमणको संभावना ज्यादा हुने भन्दै सचेत गराएका छन् । अहिले कोरोना संक्रमण अहिलेसम्मकै उच्च देखिएको र काठमाडौं उपत्यका संक्रमणको केन्द्रजस्तै बनेको भन्दै उनले महामारी नियन्त्रण र संक्रमितको उपचारमा सरकारले सम्पूर्ण प्रयास केन्द्रित गरेको बताए ।

सम्बन्धित अस्पताल विकास समिति, संक्रमित व्यक्ति वा परिवारले सक्दिनँ भन्ने स्वघोषणा गरेको अवस्थामा कोरोनाको निःशुल्क उपचारको व्यवस्था निरन्तर जारी रहने समेत उनले बताए ।