विश्व

रुसी खोपको परीक्षण भारतमा समेत हुने

नयाँ दिल्ली । रुसमा निर्माण भइरहेको कोभिड १९ विरुद्धको खोप ‘स्पुतनिक भी’ को परीक्षण भारतमा समेत हुने भएको छ । भारतको औषधिसम्बन्धी केन्द्रीय निकाय सेन्ट्रल ड्रग्स् स्टान्डर्ड कन्ट्रोल अर्गनाइजेसन्स्ले यसका लागि अनुमति दिएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । भारतमा एक सय जना स्वयंसेवकमा खोप परीक्षण गरिने भएको अधिकारीहरुले पुष्टी गरेका छन् ।

खोप भारतमा परीक्षणका लागि अनुरोध भएको र अनुमति पनि दिइएको उनीहरुको भनाई छ । यो परीक्षण दोस्रो चरणको हो । स्पुतनिक भी नामको खोपको परीक्षणका लागि भारतले अनुमति दिएको र तेस्रो चरणको परीक्षण समेत भारतमा हुने अधिकारीहरुको भनाई छ ।

भारतमा डा रेड्डीज ल्याबरेटोरिजले खोपको परीक्षण गर्न पाउने गरी अनुमति पाएको छ । यो भारतको ठूलो औषधी उत्पादक कम्पनी हो । भारतमा यहाँका एक सय जना स्वयंसेवीमा यो खोपको परीक्षण गरेपछि यसको तेस्रो क्लिनिकल ट्रायल अर्थात् तेस्रो पटकको परीक्षण हुने छ । तेस्रो चरणको परीक्षण चाँही एक हजार ४ सय जनामा गरिने भएको छ ।