फिचर

विदेशमा थप एक नेपालीको कोरोनाबाट मृत्यु

काठमाडौं । विदेशमा थप एक जना नेपालीको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गरेको साप्ताहिक अपडेटमा उक्त जानकारी दिइएको हो । अघिल्लो साता साउदी अरबमा एक नेपालीको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

एनआरएनए, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार ४२ देशमा रहेका नेपालीमध्ये ४२ हजार ७५२ नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । ३९ हजार १७९ जना अर्थात् ९२ प्रतिशत कोरोनामुक्त भएका छन् ।

गत साता भारत, कतार र स्पेनमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ । हालसम्म १९ देशका २८४ नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको जानकारी एनआरएन, कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले उल्लेख गरेका छन् ।

नेपालमा मात्र एक लाख ५५ हजार २३३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये एक लाख आठ हजार ३३४ जना कोरोनामुक्त भएका छन् । यो कुल संक्रमितको ७० प्रतिशत हो ।

शनिबार साँझसम्म नेपालमा ८४२ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । हालसम्म विदेशसहित कोरोना भाइरसका कारण एक हजार १२६ नेपालीले ज्यान गुमाएको तथ्यांक रहेको छ ।