विश्व

रअका प्रमुखसँगको प्रधानमन्त्रीको भेटबारे पार्टीलाई थाहा थिएन : श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले प्रधानमन्त्री केपी शर्मा ओली र ‘रअ’ प्रमुख सामन्त कुमार गोयलबीचको भेटबारे पार्टीमा कुनै जानकारी नभएको जानकारी दिएका छन् ।

भेटबारे सामाजिक संजालबाट आफ्नो धारणा सार्वजनिक गर्दै उनले यो भेट कूटनीतिक मूल्य र आचारसंहिता विपरीत भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री र रअका प्रमुखबीच गत बुधबार साँझ भेटवार्ता भएको थियो । भेटले राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्ने आशंका श्रेष्ठले गरेका छन् ।

श्रेष्ठ भन्छन्, ‘विदेशी गुप्तचर अधिकारीसँग प्रमको भेट र कुटनीतिक मूल्य र आचारसंहिता विपरीतको यस्तो भेट किन ? यसप्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कूटनीतिक ओझ गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्छ ।’

प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको संस्थागत जानकारी र उपस्थिति बिना गोयललाई भेटेको बारे नेकपा पार्टीमा समेत जानकारी नभएको प्रवक्ताले उल्लेख गरेका छन् ।


‘नेपालको राष्ट्रिय अनुसन्धान विभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित विषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कूटनीतिक मर्यादा अनुरुप शिष्टाचार भेट हुन सक्दथ्यो भन्दै उनले विदेशी सरकार प्रमुखले औपचारिक रुपमा आफ्नो विशेष दूतका रुपमा अख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्ने उल्लेख गरेका छन् ।