समाचार

स्वास्थ्य मापदण्ड पुरा गरी दशैं मनाऔं : स्वास्थ्य मन्त्री

काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी दसैं मनाउन सर्वसाधारणसँग अपिल गरेका छन् । कोरोना महामारीका कारण जनस्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने हुँदा दसैं सीमित रुपमा मनाउनुपर्ने बाध्यकारी अवस्था आएको उनको भनाई छ ।

उनले परिस्थितिले सिर्जना गरेको बाध्यता अनुसार चाडपर्व मनाउन आमअपिल गरेका छन् । उनले भनेका छन्, ‘विगतमा पनि हामीले स्वास्थ्यलाई ध्यान दिने, मित्रतालाई ध्यान दिने, सामाजिक शान्तिलाई ध्यान दिने, छिमेकीलाई प्रतिकूल असर नपरोस् भनेर ध्यान दिने गर्ने गरेकै हौँ । यस पटक कोरोना महामारीका कारण यस विषयमा अझै बढी ध्यान दिनुपर्ने देखिएको छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड अनुसारको व्यवहार गर्यौं भने कोरोनाबाट बच्न सघाउ पुग्ने उनले उल्लेख गरेका छन् ।

महामारी विरूद्धको लडाइँमा राज्य र जनताको बीचमा बलियो र विश्वासिलो एकता स्थापित गर्न जरूरी रहेको उनको भनाई छ ।