फिचर

लकडाउनयता विदेशबाट सवा १ लाख नेपाली घर फर्किए

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण र त्यसको नियन्त्रणका लागि सरकारले गरेको लकडाउनपछि नियमित उडान बन्द भयो । सरकारले १६ भदौबाट नियमित उडान समेत खोल्यो । ११ चैतमा शुरु भएको लकडाउनयता विदेशबाट १ लाख २२ हजार
५ सय जना नेपाली घर फर्किएका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार सोमबारसम्म उक्त संख्यामा नेपाली घर आएका हुन् । केन्द्रले हवाई मार्ग प्रयोग गरी आएका नेपालीको मात्र तथ्यांक राखेको छ । यसबीचमा भारतबाट आएका हजारौं नेपालीको भने यकिन तथ्यांक छैन ।

विदेशमा रोजगारी गुमाएका, घुमफिरका लागि विदेश पुगेर अड्किएका, आफन्त भेट्न विदेश पुगेका नेपालीलाई प्राथमिकताका साथ नेपाल ल्याइएको छ । पछिल्लो समय भने स्वच्छाले नेपाल आउनेहरु समेत बढेका छन् । तथ्यांक अनुसार ३२ मुलुकबाट नेपाली घर आएका छन् । घर आएका मध्ये अधिकांश खाडी मुलुकबाट छन् ।

यसअवधिमा सबैभन्दा धेरै यूएईबाट ३५ हजार ४ सय १७ जना घर आएका छन् । कतारबाट २२ हजार ५ सय ९४, मलेसियाबाट १७ हजार ९ सय २४ जना र साउदी अरेबियाबाट १७ हजार १ सय ६० जना आएको तथ्यांक छ । अमेरिकाबाट ४ सय ३७ जना नेपाली घर आएका छन् ।