विज्ञान प्रविधि

परीक्षण घट्दा संक्रमितको संख्या ओरालो

काठमाडौं । बडादशैंको बिदाको अवसर पारी काठमाडौं उपत्यकामा चहलपहल घट्यो । यसको प्रभाव कोरोना भाइरसको परीक्षणमा समेत देखिएको छ । पछिल्लो २४ घण्टामा मात्र २ हजार ७२५ नमुना परीक्षण भएको छ । यो संख्याबाट ५७० जनामा मात्र कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । देशभरका ल्याबमा यो संख्यामा परीक्षण भएको हो ।

अब देशभर संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ । यसमध्ये १ लाख १८ हजार ८४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार १६८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा १४ जनाको ज्यान गएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ८७६ पुगेको छ ।