बिचार

आप्रवासीका लागि ट्रम्प विजय यस कारण जोखिम! प्रभात भट्टराईको लेख

राष्ट्रपतिका रुपमा ह्वाइट हाउसमा डोनाल्ड ट्रम्पको चार बर्षे प्रहसन अब अन्तिम चरणमा पुगेको छ । यो अवधिमा ट्रम्पले एक होइन अनेक चर्तिकला देखाए । अन्तराष्ट्रिय नजरमा अमेरिकी छवि रसातलमा पुर्याए । निर्वाचित हुने वित्तिकै एक धर्म विशेषलाई लक्षित गरि अमेरिका प्रवेशमा रोक लगाए । हुँदा हुँदा अमेरिकी राष्ट्रपतिले ह्वाइट हाउस पोडियमबाट जनतालाई शरिरमा ब्लिज पठाएर कोरोना भाइरसको उपचार हुने बताएको समेत देख्नु/सुन्नु पर्यो । दिनमा सयवटासम्म ट्विट गर्छन् । यस्तो लाग्छ- उनी ट्विटरबाटै देश चलाइ रहेका छन् ।

प्रभात भट्टराई

यी अनेक प्रहशनबीच आठ महिना देखि अमेरिकालाई गाँजेको कोरोना भाइरसले ट्रम्पको नेतृत्व कौशल उदाङ्गो पारिदिएको दिएको छ । ८५ लाख बढि संक्रमित र सवा दुई लाख बढिको मृत्यु सहित भाइरस संक्रमणमा अमेरिकाले विश्वलाई उछिनेको छ । विश्वको पाँच प्रतिशत जनसंख्या रहेको अमेरिकामा भाइरसबाट ज्यान गुमाउने भने विश्वभरी मृत्यु हुनेको संख्यामा २० प्रतिशत हाराहारी छन् । संसारको सबैभन्दा शक्तिशाली एवं सम्पन्न मुलुकको हविगत कसरी यस्तो हुन पुग्यो ?

उत्तर सहज छ- नेतृत्वको हेलचेक्राँइ । ट्रम्प राष्ट्रसामु कहिल्यै भाइरस बारे गम्भीर रुपमा प्रस्तुत भएनन् । बन्द कोठामा गरिएका पुराना वार्ताको अडियो सुनेपछि थाहा भयो उनी आफुलाई भाइरस सर्ला कि भनेर चरम त्रासमा थिए । तर, मुलतः आफ्ना समर्थक माझ भाइरस गम्भिर छ भन्ने सूचना पुर्याउँदा आफूलाई राजनीतिक वेफाइदा पुग्ने आँकलनले सधैँभरि झूठ बोलिरहे ।

गत शुक्रबार र शनिबार अमेरिकामा सर्वाधिक दैनिक संक्रमणको नयाँ रेकर्ड कायम भएर ८० हजार नाघ्दा पनि ट्रम्प भाइरस नियन्त्रणमा रहेको दावी दोहोर्याइ नै रहेका थिए । मिडियाले कोरोना भाइरसको अधिक चर्चा गरेर आफुलाई चुनाव हराउन खोजेको आरोप लगाएका छन् । हुँदा हुँदा दैनिक मृत्युदर ५०० मा झरि सकेको झूठो विवरण दावी गर्दै मिडियाले संक्रमितको संख्यालाई अनावश्यक उछालेर हल्ला गरेको तर्क समेत गरेका छन् । दैनिक हजार हाराहारीमा अमेरिकीको मृत्युलाई ट्रम्पले मजाकको विषय बनाएका छन् । त्यति मात्र होइन अरु रोगबाट मृत्यु भएकाहरुलाई समेत कोरोनाका कारण मरेको बताएर स्वास्थ्यकर्मी र अस्पतालले पैसा कमाउन खोजेको आरोप समेत ट्रम्पले लगाएका छन् ।  

अर्थतन्त्रको भ्रम

ट्रम्प सन् २०१६ मा निर्वाचित हुँदासम्म अमेरिकी अर्थतन्त्र निरन्तर उकालो लागेको थियो । बाराक ओबामा र जो बाइडेनले अन्तिम तीन बर्षमा निरन्तर बढेको अर्थतन्त्र ट्रम्पलाई जिम्मा लगाएका थिए । ओबामाको अन्तिम तीन बर्षमा जति रोजगारी अमेरिकामा सिर्जना भयो ट्रम्पले त्यसलाई भेट्टाउन सकेनन् । तर, उनी आफुले इतिहासकै उत्कृष्ठ अर्थतन्त्र सिर्जना गरेको दावी गरिरहे । एउटै झूठ सय पटक बोलेपछि सत्य हुन्छ भन्ने नेपाली उखान जस्तै ट्रम्पको उक्त दावी पत्याउने अमेरिकीको संख्या ठूलै छ ।

सन् २०१४, २०१५ र २०१६ मा ओबामाले क्रमशः मासिक औषत २ लाख ५० हजार,  २ लाख २७ हजार र १ लाख ९५ हजार रोजगारी सिर्जना गरेका थिए । ट्रम्पले ओबामाको यो कुनै पनि अंक छुन सकेनन् । सन् २०१७ मा मासिक औषत एक लाख ७६ हजार रोजगारी सिर्जना भयो । त्यही बेला ट्रम्पले धनी वर्गलाई भारी कर छुट दिने कानून पारित गराउन सफल भए । कम्पनीहरुले नाफा बापत तिर्नु पर्ने कर्पोरेट आयकर ३५ प्रतिशतबाट २१ प्रतिशतमा झारियो । कर बापतको ठूलो रकम बचाउन सफल भएपछि कम्पनीहरुले केही रोजगारी बढाएजस्तो पनि गरे ।

ओबामाले महामन्दी पार लगाएर सहज बढ्दो अर्थतन्त्र ट्रम्पलाई जिम्मा लगाएका थिए । स्केचः वासिंटन पोष्ट

फलस्वरुप २०१८ मा मासिक औषत १ लाख ९३ हजार रोजगारी सिर्जना समेत भयो । तर, २०१९ मा यो १ लाख ७८ हजारमा झरि सकेको थियो । यसरी ओबामा सरकारको अन्तिम तीन बर्षभन्दा ट्रम्पको सुरुवाती तीन बर्षको रोजगारी सिर्जनामा १५ लाखले कमी आएको थियो । २०२० को सुरु देखिनै ट्रम्पले भाइरस संक्रमणमा वेवास्ता गर्दा मार्च दोस्रो साता यता अमेरिकामा भयावह अवस्था आयो । परिमाण स्वरुप दुई करोड बढिले एकै पटक रोजगारी गुमाए । अहिले आधा हाराहारी काममा फर्किए पनि आठ प्रतिशत काम गर्ने उमेरका अमेरिकी बेरोजगार छन् ।

यति हुँदा पनि ट्रम्प आफुले अर्थतन्त्र फिर्ता ल्याउने दावी गर्न छोड्दैनन् । त्यसको कुनै प्रष्ट खाका र एजेन्डा उनीसँग छैन । प्रतिश्पर्धी जो बाइडेन र मिडियालाई व्यक्तिगत आक्षेप र गालीगलौजको भरमा आफ्नो राजनीतिक उठानको सपना देखि रहेका छन् ।

घृणाको जगमा उठान

ट्रम्पको राजनीतिक उदयनै घृणा र रंगभेदको बलमा भयो । चुनाव जितेर ह्वाइट हाउस छिरेपछि पनि उनी त्यही चरित्र निभाइ रहे । सन् २०११ मा उनले पहिलो पटक राष्ट्रपति ओबामा अमेरिकामा नजन्मिएको दावी सुरु गरे । अमेरिकी आमा र केन्याका आप्रवासी पिताबाट हवाइमा जन्मिएका ओबामाले त्यही बर्ष आफ्नो जन्मदर्ता सार्वजनिक गरिदिए । त्यतिले मात्र नपुगेर हवाइ राज्य सरकारले नै ओबामाको जन्मदर्ता सार्वजनिक गर्यो । तर, ट्रम्पले ओबामा अमेरिकामा नजन्मिएको दावी गर्न छोडेनन् । उनलाई तर्कहरु जुटाउन सहज थियो, किनभने ओबामा काला जातिका थिए । कुनै स्वेत पुरुष विरुद्ध अमेरिकामा यस्तो मुद्दा कहिल्यै उठ्दैन । फरक छाला हुने वित्तिकै पहिलो आक्रमण उसको नागरिकताबाट सुरु हुन्छ ।

मुस्लीमलाई अमेरिकामा यात्रा प्रतिबन्धको कार्यकारी आदेश जारी गर्दै ट्रम्प । तस्वीर: सिएनएन

ट्रम्पले त्यहि रणनीति अपनाए । पछि थाहा भयो ट्रम्पले २०१२ कै राष्ट्रतपिय चुनावमा ओबामालाई चुनौती दिने महत्वाकांक्षा पालेका थिए । राजनीतिक एजेन्डा या प्रतिबद्धता नभइ व्यक्तिगत आक्रमण र घृणाको बलमा चुनाव लड्ने रणनीति अनुरुप ट्रम्पले उक्त तुरुप फ्याँकेका थिए । राष्ट्रपति चुनाव लड्ने ट्रम्पको तयारी भित्र भित्रै तुहिए पनि ट्रम्पले ओबामा विरुद्धको घृणात्मक प्रचार रोकेनन् । किनभने उनी २०१६ को चुनावमा उदाउने त्यो भन्दा ठूलो अस्त्र अरु हुन सक्दैन भन्नेमा प्रष्ट थिए । ट्रम्पलाई यो आधार दिएको थियो ‘कन्जरभेटिभ’ मिडिया ‘होष्ट’लाई विश्वास गर्ने जमातले । सन् २००८ मै कन्जरभेटिभ मिडियालाई पत्याएर ओबामालाई मुस्लिम ठान्ने एवं अमेरिकालाई उनले माया नगर्ने बताउने ठूलै जमात तयार भइ सकेको थियो । मुद्दाका आधारमा राजनीति गर्ने त्यसबेलाका रिपब्लिकन राष्ट्रपतिय प्रत्याशी जोन म्याकेनले यस्ता घृणात्मक दावीलाई आफ्नो क्याम्पेनमा ठाउँ दिएनन् । उल्टो समर्थकहरुलाई ओबामाले जितेमा राष्ट्रिय सुरक्षामा खलल पुग्ने कुनै सम्भावना नरहेको तर राष्ट्रपतिका रुपमा आफुले राम्रो काम गर्ने विश्वासका साथ चुनावमा उठेको जवाफ दिएर साम्य पार्ने प्रयास गरेका थिए ।

ट्रम्पले त्यही घृणाको पोखरीमा हाम फाले । रिपब्लिकन प्राइमरी जितेर अन्तिम चुनावको तयारीका बेला भने ओबामा अमेरिकामै जन्मिएको मान्न आफु अब तयार रहेको भन्दै बोली फेरे । कारण थियो रिपब्लिकन प्रति झुकाव राख्ने काला जातिका मतदाताको भोट तान्नु ।

ट्रम्प कुनै दर्शन र सिद्दन्तबाट प्रेरित व्यक्ति होइनन् । उनी जे बन्छन् या गर्छन् सिर्फ फाइदा र नाफाका लागि गर्छन् । यस्ता मान्छेसँग संगत गर्छन् जो कुनै न कुनै विवादमा मुछिएकै होस् । सोही कारण ट्रम्प राष्ट्रपति निर्वाचित भएयता दर्जन हाराहारी उनका निकट सहयोगी अदालतबाट बिभिन्न मुद्दामा दोषी प्रमाणित भइ सके । जब आफ्ना कोही निकटतमको अपराध छताछुल्ल हुन्छ ट्रम्प उनीहरुलाई नचिनेझैँ गर्न थाल्छन् । यसरी नै उनको राष्ट्रपतिसम्मको यात्रा तय भएको छ ।

हामी र ट्रम्प

ट्रम्पको प्रहसनले अमेरिकालाई दीर्घकालका लागि पारेको असर त भोलीका दिनमा थप सतहमा आउँदै जाला । यो आलेखको मूल ध्येय ट्रम्पका रंगभेदी हर्कतले अमेरिकी समाजमा सिर्जना गरेको विभाजन र त्यसले हामी आप्रवासीको जीवनमा पार्ने प्रभाव माथिको चर्चा गर्नेछ । उनले लिएका गोरो छाला भएका बाहेक अरु जाति र मूलका मानिस लक्षित नीति नियमले हामी सबै नराम्रोसँग प्रभावित भएका छौँ । हामीमध्ये कतिपयलाई भ्रम छ- ‘ट्रम्पले अमेरिकी नागरिक भइ सकेका व्यक्तिलाई त समान व्यवहार गर्छन् । आप्रवासीप्रति जुन रुखो व्यवहार छ, त्यो त केवल नयाँ आउनेहरुका लागि मात्र हो ।’ यो बुझाइ सरासर एउटा भ्रम मात्र हो ।

सबैभन्दा पहिले चर्चा गरौँ ट्रम्प हावी भइ सकेपछिको रिपब्लिकन पार्टीको । सन् २०१९ को सुरुवातमै टेक्सास स्थित टेरान्ट काउन्टीको रिपब्लिकन पार्टी उपाध्यक्षमा शहिद साफी चयन भए । उनको चयन काउन्टीका चल्तापुर्ता रिपब्लिकन नेतालाई खपिसाध्ये भएन । ‘मुस्लिम पनि हाम्रो पार्टीको नेता ? चर्च नजाने मान्छले रिपब्लिकन पार्टी हाँक्ने?’ शाफी माथि यहि शैलीको आक्रमण सुरु भयो । भारतीय आप्रवासी एवं पेशाले ३० बर्ष देखि चिकित्सक रहेका शाफि सन् २००९ मा ‘न्याचुरलाईजेसन’ विधीबाट अमेरिकी नागरिक बनेका थिए । उनलाई विरोध गर्नेहरुले उनको योग्यताको पाटो उधिन्नै मानेका थिएनन् । धर्मकै कारण रिपब्लिकन पार्टीको नेता बन्न निमल्ने तर्क गर्नेहरुलाई बल दिएको थियो ट्रम्प निर्णयले । राष्ट्रपति निर्वाचित भएलगत्तै ट्रम्पले मुस्लिमहरुलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने नीति लिएका थिए । त्यसले उनका धेरै समर्थकमा ‘मुस्लिम जति सबै अपराधी हुन्’ भन्ने पर्न गयो ।

अन्ततः शाफीले पदमा बस्न काउन्टीका सकृय रिपब्लिकन कार्यकर्ताबाट विश्वासको मत लिनै पर्ने निर्णय गरियो । त्यहाँ उनको पक्षमा १३९ र विपक्षमा ३९ मत आयो । यसले पुष्टि गर्यो कि रिपब्लिकन पार्टीभित्र सहिष्णुता सम्पुर्ण रुपले मरि नसके पनि ट्रम्प हावी हुन्जेल असहिष्णुहरुकै बोली हावी भइ रहनेछ । किनभने शाफीको पक्षमा गोप्य रुपले त्यति धेरै मत खस्ने अवस्था हुँदा पनि सार्वजनिक रुपमा भने उनको बचाउ गर्ने भन्दा विरोधी आवाज नै चर्को थियो ।

आप्रवासी, फरक छाला र रंग माथिको आक्रमणमा शाफी त एक बिम्ब मात्र हुन् । ‘ट्रम्पिजम’ अन्तर्गत चल्ने समाजको मूल चरित्र नै यही हो । मिडिया रिपोर्टहरुका अनुसार गोरा बाहेक अरु रंगका आप्रवासीलाई अमेरिका छिर्न नदिन ह्वाइट हाउसबाटै विषेश नीति र कार्ययोजना तइ भइ रहेका छन् । ट्रम्पले आप्रवासीप्रति व्यक्त गर्ने चरम घृणा त्यही नीतिको एउटा अंश हो । ट्रम्पले सुरु देखिनै चर्को विरोध गरेको आप्रवासी नीति हो- पारिवारिक आप्रवासन । ‘चेन माइग्रेसन’ नाम दिएर ट्रम्प यो व्यवस्था उल्टाउन हरसंभव प्रयास गरि रहेका छन् । आफ्ना सासु ससुरालाई यहि नीति अन्तर्गत अमेरिका ल्याएर नागरिकता दिलाएका ट्रम्प आम आप्रवासी अमेरिकीलाई यो सुविधा नहोस् भन्ने चाहन्छन् । हुनतः उनका लागि आफ्ना दाजु भाइ दिदी बहिनीको कुनै महत्व छैन । पैसा र पावर नै उनका लागि सबैथोक हो । त्यही भएर उनकी दिदीले सबैभन्दा निर्दयी पुरुषको रुपमा टिप्पणी गरेको हामीले केही समय अघि सुन्न पायौँ । भतिजीले ट्रम्पले आफ्नो परिवार कसरी भत्काए भनेर किताब नै लेखिन् ।

ट्रम्पले निरन्तर आक्रमण गरेको पारिवारिक आप्रवासन नीतिबाट हामी पहिलो पुस्ताका आप्रवासी नै सबैभन्दा धेरै प्रभावित हुने हौँ । आफ्ना दाजु भाइ दिदी बहिनीलाई बर्षौँको प्रतिक्षापछि भए पनि अमेरिका ल्याएर सँगै बस्ने अवसर हामीलाई यही नीतिले दिएको छ । एक जिम्मेवार अमेरिकी नागरिको पारिवारिक मिलन गराउने यो नीति अमेरिकाको राष्ट्रिय सुरक्षाका दृष्टिले पनि भरपर्दो र सुरक्षित छ । तर, ट्रम्प यहि भत्काउन चाहन्छन् । मुखले कानूनी प्रकृयाबाट आउने आप्रवासीलाई आफुले स्वागत गर्ने बताए पनि व्यवहारमा त्यस्ता कानूनी सुविधा सबै भत्काउन ट्रम्प लालायित छन् । आखिर किन? ट्रम्पलाई थाहा छ हामी जस्ता तेस्रो मुलुकका मान्छेलाई जति आफ्ना दाजु भाइ दिदी बहिनीको महत्व अरुलाई छैन । र, ट्रम्प प्रष्टसँग चाहन्छन् हामीजस्ताको संख्या यो देशमा नबढोस् । उनले मुखै फोरेर गरिब एवं अश्वेत नागरिकको बहुमत भएका देशलाई ‘सिटहोल’ भनेकै छन् । नर्वेजस्ता गोरा प्रधान देशबाट आप्रवासी ल्याउन जोड गर्नु पर्छ पनि भनेकै हुन् ।

नेपाली अमेरिकीको संख्या बढ्दै जाँदा राजनीतिक बहस हाम्रो समाजमा पनि तातिन थालेको छ । केही नेपालीले ट्रम्प जिताउन संगठित प्रयासकै घोषणा गरेका छन् । अहिलेसम्म हाम्रो संख्या कसैलाई जिताउन या हराउन पुग्ने त भइ सकेको छैन । तर, यो अमेरिकी इतिहासकै संगिन मोडमा हामी कहाँ उभिएका थियौँ भनेर भोली आफैँले समिक्षा गर्ने दिन अवश्य आउनेछ । छोरा छोरी नाती नातिनालाई जवाफ दिने दिन अवश्य आउनेछ ।

अमेरिकी सीमामा शरण माग्न आइपुगेका आप्रवासी । अहिले यस्ता शरणार्थी ट्रम्प प्रशासनको तारोमा छन् । तस्वीर: एनबीसी न्यूज

ट्रम्प विजयको कामना गर्दै गर्दा पल्लो कोठमा बस्ने हाम्रै नेपाली दाजुभाइलाई एक पटक सम्झौँ । ट्रम्पले उनलाई टिपिएस खारेज गरेर डिपोर्ट गरेका दिन हामी खुच्चिङ मनाउने कि एकछिन दुःखी अनुहार बनाएर गोहीको आँशु झार्ने ? सीमानामा बाबु आमाबाट छुट्याएर जेलमा कोचिएका तोते बोल्ने उमेरका लालाबालाको चित्कार सुनौँ र आफैँलाई सोधौँ तिनको रोदनमा नभक्कान्निने हाम्रो हृदयमा आखिर अहिले के भरिन पुग्यो? आफ्ना बाबु आमा एवं दाजु भाइ दिदी बहिनीलाई कुनै दिन अमेरिका ल्याएर सँगै बस्ने सपना ट्रम्प उदयसँगै हामीले भुल्यौँ ? हामी यति चाँडै यति बिघ्न नृशंश कसरी बन्न सक्यौँ ?

ल यी केहीले पनि हामीलाई छोएनछ रे । एक पटक आफ्नै छोरा छोरी नाती नातीनालाई सम्झौँ । ट्रम्पले निरन्तर मलजल गरेको स्वेत सर्बोच्चतायुक्त समाजमा तिनले आत्मसम्मानको दिन बिताउन पाउलान् ? ट्रम्पले वकालत गरेको जथाभावी बन्दुकको सान दिन पाइने वातावरणमा तिनले सुरक्षित सास फेर्न सक्लान् ? हरेक दिन उनीहरु स्कुलबाट सुरक्षित घर फर्केलान् नफर्केलान् भनेर हाम्रो हृदय नपोली समय बित्ला ? ट्रम्प राष्ट्रपति भएयता बन्दुकको हिंसाबाट कम्तिमा एक लाख अमेरिकीको ज्यान गइ सकेको छ । छ वटा हृदयविदारक ‘मास सुटिङ ‘बाट कम्तिमा १४३ जना मारिए । तर, ट्रम्प मेसिन गनजस्ता आम बिनासकारी हतियार नियमनको कानून बनाउन समेत कहिल्यै तयार भएनन् ।

हामी यो देशमा सपना देखेर आप्रवासी भएका जरुर हौँ । सहिष्णुता सहितको सम्बृद्धि हाम्रो सपना थियो । तर आज ट्रम्पले दिनहुँ सहिष्णुताको हत्या गर्दा ताली बजाउने अवस्थामा हामी कसरी पुग्यौँ ? जन निर्वाचित सांसदले ट्रम्प नीतिको विरोध गर्दा मन नपरे देश छोडेर जाने धम्की आउँछ । यो देशमा ट्रम्पका हजुरबा जुन सपना देखेर आएका थिए, सबै आप्रवासी त्यसैगरि आएका हुन् । कुनै एक शासकसँग असहमत हुने नागरिकलाई देश छोडेर जाउ भन्ने राष्ट्रप्रमुखको धम्की लोकतन्त्रमा कल्पना पनि गर्न सकिँदैन । हुँदाहुँदा १७ बर्षे गोरा तन्नेरीले रंगभेद विरुद्धको प्रदर्शनमा शान्तिपुर्ण तवरले उत्रिएका नागरिक माझ बन्दुक बोकेर गएर ठ्यांङठ्याङ गोली हानी तीन जनालाई ढालिदिने र राष्ट्रपतिले भोलीपल्ट उनलाई स्यावास भनेको पनि देख्नु पर्यो । हामीले सपना देखेको नेतृत्व र समाज कदापी यस्तो होइन ।

ट्रम्प आफ्नो व्यापारमा १० पटक ‘ब्यांक्रप्ट’ भइसके । देश त्यसरी चल्दैन । हरेक अफ्ठ्यारा र विरोधहरुलाई नेतृत्वले संगेलेर लैजान सक्नु पर्छ । तर, ट्रम्पका लागि नागरिक ती मात्र भए जो उनको भजन गाउन तयार छन् । ‘ट्रम्पिजम’को रंगभेदी आक्रमणको पछिल्लो शिकार भइन्, डेमोक्रेटिक उपराष्ट्रपतिकी उम्मेद्वार कमला ह्यारिस । अमेरिकाकी जन्मसिद्ध नागरिक ह्यारिसलाई ट्रम्प र उनका भित्रियाहरुले उपराष्ट्रपतिका लागि योग्यता नपुगेको भनेर विरोध गरे । त्यसका लागि उनीहरुसँग कुनै प्रमाण थिएन मात्र कमलाको कालो छालाप्रतिको द्वेष थियो । ट्रम्प अहिले ह्यारिस पहिलो महिला राष्ट्रपति बने राष्ट्रिय लज्जा बन्ने बताउन थालेका छन् । आफ्नी छोरी मात्र त्यसका लागि लायक रहेको उनको दलिल छ । हुँदा हुँदा ह्यारिसलाई ‘मोन्सटर(कुरुप)’को संज्ञा दिएर व्यक्तिगत आक्रमण सुरु गरेका छन् ।

भारतीय आमा र जमैकन आप्रवासी पिताकी अमेरिकी छोरी कमलाको कहानी हाम्रै सन्तानसँग मिल्छ । एकछिन उनको स्थानमा आफ्ना सन्तालाई राखेर हेरौँ त । ‘ट्रम्पिजम’ कामय रह्यो भने हाम्रा सन्तानले अमेरिकामा केही गर्छु भन्दा भोली पाइलै पिच्छे राष्ट्रियताको परिक्षा दिनुपर्छ । त्यो पनि मात्र गोरो छाला नभएको कारणले मात्र । त्यसैले हामी आ -आफ्नो आत्मालाई जति झूठ बोलेर ट्रम्प भक्तिमा लागौँ, तर उनका लागि हामी ‘सिटहोल कन्ट्री’ कै नागरिक हौँ ।