विश्व

रुसी भ्याक्सिन भारतमा पनि उत्पादन हुने, वार्षिक १० करोड डोज उत्पादनको लक्ष्य

मस्को । रुसी कोरोना भ्याक्सिन स्पुतनिक भी भारतमा समेत उत्पादन हुने भएको छ । स्पुतनिक भी उत्पादक कम्पनीले स्थानीय साझेदारमार्फत भारतमै भ्याक्सिन उत्पादनको घोषणा गरेको हो । भारतमा भने हेटेरो नामक औषधि उत्पादक कम्पनीले उत्पादन गर्ने भएको छ । भारतमा वार्षिक १० करोड डोज खोप उत्पादनको सम्झौता भएको छ ।

हेटेरो भारतको अग्रणी औषधि उत्पादक कम्पनी मानिन्छ । हेटेरोसँग बर्सेनि १० करोड डोज भ्याक्सिन उत्पादन गर्ने सम्झौता भएको रुसी डाइरेक्ट इन्भेस्टमेन्ट फण्डले शुक्रबार वक्तव्यमार्फत जानकारी गराएको छ ।

आरडिआइएफका अनुसार सन् २०२१ को प्रारम्भबाटै भारतमा भ्याक्सिनको उत्पादन शुरु हुने भएको छ । रुसले यो खोप ९५ प्रतिशत प्रभावकारी ठहरिएको दाबी गरेको छ । पाँच महिना लामो पटकपटकको परीक्षणपछि रुसले यस्तो निष्कर्ष निकालेको हो ।

भ्याक्सिन उत्पादक कम्पनीले स्पुतनिक भी अन्यभन्दा सस्तो हुनेछ । कम्पनीका अनुसार‚ अन्तर्राष्ट्रिय बजारमा स्पुतनिक भी प्रतिडोज १० अमेरिकी डलरमा उपलब्ध हुने भएको छ ।
भारतबाहेक चीन‚ दक्षिण कोरिया‚ ब्राजिल लगायतका देशमा पनि स्पुतनिक भीको उत्पादन हुने गरी सम्झौता भइसकेको छ ।