फिचर

राष्ट्रिय गौरवका आयोजनामा कोरोना प्रभावबारे संसदीय समितिले अध्ययन गर्ने

काठमाडौं । संसदीय समितिले राष्ट्रिय गौरवका २२ वटा आयोजनाका कोरोना भाइरसले पारेको प्रभावबारे अध्ययन गर्ने भएको छ । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले यस प्रयोजनका लागि उपसमिति गठन गरेको छ ।

नेपालमा २२ वटा राष्ट्रिय गौरवका आयोजना छन् । त्यसमध्ये केही आयोजना गत आवमै सम्पन्न हुनु पर्ने थियो । तर, कोरोना भाइरसको महामारी र यसको नियन्त्रणका लागि गरिएका रोकथामका उपायका कारण काम प्रभावित भएको छ ।

उपसमितिले आयोजनामा कोरोनाले पारेको प्रभाव अध्ययन गर्ने र त्यसको न्यूनीकरणका लागि आवश्यक उपायहरुबारे सुझाव पेश गर्ने भएको छ ।


राष्ट्रिय सरोकार तथा समन्वनय समितिको मंगलबारको बैठकले राष्ट्रिय गौरवका आयोजनामा कोरोनाले पारेको प्रभाव अध्ययन गर्न तीन उपसमिति गठन गरेको छ । कुल १४ सदस्यीय समितिलाई तीन समूहमा विभाजन गरि उपसमुह बनाइएको छ ।

दुई समूहलाई सात\ सात राष्ट्रिय गौरवका आयोजना हेर्ने जिम्मा दिइएको छ । एउटा समूहले आठ आयोजना हेर्ने भएको छ । प्रत्येक समुहमा चार जना सदस्य छन् । सबै उपसमितिले संयोजक आफैं चयन गर्ने भएका छन् ।

आयोजनाका अधिकारी, विज्ञ र सरोकारवालासँग छलफल गरी प्रतिवेदन बनाइएको भनएको छ । आवश्यकता अनुसार फिल्डमा समेत पुग्ने गरी उपसमितिले अनुमति पाएका छन् ।