बिचार

संबिधानको सम्मान गर्न नसके पनि अपमान नगरौं

महेश्वर घिमिरे, न्युयोर्क

लाखौं नेपाली जनताको त्याग, संघर्ष र बलिदानबाट ल्याइएको संघीय लोकतान्त्रिक गणतन्त्र ईतिहासको सबैभन्दा महत्वपूर्ण राजनैतिक परिवर्तन हो । त्यसबाट बनेको संविधान र यसको उपलव्धि भनेको नेपालको राज्य संयन्त्रको साँचो हो । नेपाली जनताको वर्तमान र भविष्य हो । भूतपूर्व प्रधानमन्त्री स्व. मनमोहन अधिकारीदेखि स्व.गिरिजासम्मले गरेका संसद बिघटनमा आजको गणतान्त्रिक संविधानको कुनै सरोकार थिएन । तात्कालिन संसद बिघटनको मूल्य र मान्यतामा फरक थियो र संबिधान पनि फरक थियो ।
आज नेपालमा एक तानाशाहको उदय भएको छ, जस्ले जनताबाट पूर्ण अनुमोदित संविधान र जनमतको खिल्ली उडाएर संसद भंग गरेको छ र यसको मतियार राष्ट्रपति बिद्यादेवी भण्डारीले अनुमोदन गरेकी छिन् । जुन कदमले लोकतात्रिक संबिधानको मर्ममा चोट पुर्याएको छ ।
प्रधानमन्त्री ओलीलाई शक्तिको दम्भले बनाएको नागों वादशाह र नागैं भइसकेपछि जसरी नाँचिदिए पनि के को बेईज्जत ? भन्ने उखानको चरितार्थताले देशलाई अरबौंको भार पर्ने देखिएको छ । प्रधनमन्त्री गुटकी गणतान्त्रिक नेपालको राष्ट्रपतिले औठाछाप व्यवहार देखाएकी छिन् ।

आज नेपालमा बिभिन्न लालबुझक्कडहरूले आ-आफ्नै तर्कहरू तानिरहेको भएतापनि बुढो गोरूले कोरली गाई ओगटेको जस्तरी के पी ओलीले सरकार र पार्टीको वागडोर ओगटिनै रहे । झण्डै दुई तिहाई जनमत बोकेको बिशाल पार्टी र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको गौरवशाली सरकारको भार थेग्नसक्ने क्षमता उनिमा थिएन । अहंकारी , बिश्वासघाति , बहुलठ्ठी , स्वेच्छाचारी र हठ स्वभावका धनि केपी ओलीले पटक पटक लोकतान्त्रिक र गणतान्त्रिक आन्दोलनहरूको धज्जी उड़ाएकै हुन् । चाहे कॉंग्रेस पार्टी होस् चाहे मधेशवादी पार्टी र चाहे तात्कालिन माओवादी किन नहोस् यी सबैलाई केही न केही रूप तथा अवस्थामा उनको बलबुताले भ्याएसम्म धोखा दिएकै हुन् । आफ्नो अहंकार चुर हुने देखेपछि देश र जनता भाडमै गएपनि जाओस् अझै लाखौं जनताहरूको संघर्षबाट प्राप्त लोकतन्त्र उखेलिएपनि उखेलियोस् यस्ता तानाशाहलाई के मतलब हुन्छ र !
संसद बिघटनबाट फेरी देशको संपूर्ण स्थिति बलजफ्ति तरलता तिर धकेलिएको छ । नेपालको धमिलो तरलतामा सार्है खेल्न मन पराउने उत्तरका छिमेकी अनि त्यही तरलतालाई उपभोग गरेर फाईदा लुट्न खप्पिस् दक्षिणका छिमेकी यतिबेला थप चनाखो भएका दखिन्छन् । नेपाली मष्तिस्कमा धार्मिक अफिम् छर्न सिपालु पश्चिमा दुतहरु र त्यस्तै नेपालको भौगोलिक अवस्थाको दुरूपयोग गर्न तत्पर पश्चिमाहरूको निमित्त मुख फड्काउने तथा बन्दूक पड्काउनेदेखि लिएर बुट् बजार्ने र नेपालीहरूलाई पछार्नेसम्मको खेल अव नेपालमा थप नचर्किएला भन्न सकिन्न ।

संसारको ईतिहासलाई हेर्ने हो भने एक कालखण्डमा एक देशमा एक तानाशाहको उदय हुन्छ र त्यसले देश र जनतालाई दिनसम्म दु:ख दिन्छ । आखिर त्यस्ता तानाशाहहरूको ज्यादै दुखान्त अन्त्य हुन्छ । अव सबै नेपालीहरूले बुझ्नुपर्ने यथार्थता के हो भने बेलैमा नेपालमा उदयभएका नवतानाशाह र यसका मतियारहरूलाई शक्तिबाट नझार्ने हो भने संसद बिघटन त एउटा सानो राजनैतिक परिघटना मात्र परिणत हुनेछ । संकटकाल, सैनिक शासन र चुनावी वातावरण नभएको भन्दै कयौं साल नेपालमा तानाशाही तन्त्र चल्नसक्नेछ । देश बिकास र जीविकोपार्जन त पुन: दशौबर्ष पछाडि धकेलिने नै छ । त्यसैले सबै लोकतान्त्रिक शक्तिहरू एकजुट हुदै बिशाल जन-प्रदर्शन र आन्दोलनद्वारा समयमै यस्ता तानाशाहलाई गद्दीबाट झार्नु आजको अपरिहार्यता हो । संघीय लोकतान्त्रिक संविधानप्रतिको सम्मान गर्न नसकेपनि अपमान गर्ने अधिकार कसलाई छैन ।