विज्ञान प्रविधि

विदेश जान नक्कली पिसिआर रिर्पोट, कागज बनाउने गिरोह खोज्दै प्रहरी

काठमाडौं । नेपालबाट विदेश जाने क्रममा नक्कली पिसिआर परीक्षण रिर्पोट बन्ने गरेको खुलासा भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नक्कली पीसीआर रिपोर्टसहित ७ जना पक्राय परेसँगै यस्तो रहस्य खुलेको हो । यसअघि नेपालबाट विभिन्न मुलुक पुगेका नेपालीमा पुनः परीक्षण गर्दा कोरोना पुष्टी भएपछि एयरलाइन्सले प्रतिवन्ध भोगेका थिए । त्यसबेला नेपाल एयरलाइन्सले गरेको गुनासोलाई गम्भीर रुपमा लिइएको थिएन । तर, नक्कली रिर्पोटसहित नै व्यक्ति पक्राउ परेपछि भने यसको रहस्य खुलेको हो ।

प्रहरीका अनुसार किर्ते कागजपत्र तयार पार्ने गिरोहको खोजी भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार शंकास्पद रिपोर्टसहित नियन्त्रणमा लिइएका ७ जना महानगरीय प्रहरी वृत्त, गौशालामा छन् । उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।

पक्राउ परेका व्यक्तिको साथमा ह्याम्स अस्पताल र सेन्टर डायगोनस्टिक प्रयोगशालाको नक्कली पीसीआर रिपोर्ट थियो । प्रहरीका अनुसार नक्कली रिपोर्ट बनाउने काममा अस्पताल र प्रयोगशालाको संलग्नता भने देखिएको छैन । तर, अस्पतालको नाममा अन्य गिरोहले किर्ते गरेको निष्कर्षमा प्रहरी पुगेको छ ।


रिपोर्ट नक्कली भएको पुष्टि भएपछि प्रहरीले सल्यानका दिनेश सिंह, धनुषाका तेजनारायण महतो, छेदी महतो, सोलेन्द्र महतो, मकवानपुरका रोशनप्रसाद आचार्य, अर्घाखाँचीका प्रविन भट्टराई र सिन्धुपाल्चोकका माइला तामाङ पक्राउ परेका छन् ।