विज्ञान प्रविधि

गन्तब्य प्रचार हुने उत्कृष्ट टिकटक भिडियोलाई बोर्डले नगद पुरस्कार दिने

काठमाडौं । नेपाल पर्यटन बोर्डले नयाँ पर्यटकीय क्षेत्रको भिडियो बनाएर प्रचार प्रसारमा ल्याउने उत्कष्ट टिकटक भिडियोलाई पुरस्कृत गर्ने भएको छ । निश्चित शर्त पुरा गरी अपलोड भएका टिकटक भिडियोलाई हरेक १५ दिनमा उत्कृष्ट छनोट गरी एक जनालाई २० हजार नगद पुरस्कार दिने घोषणा बोर्डले गरेको हो । यसअघि तनहुँको मानहुँकोट टिकटककै कारण भाइरल बनेको थियो ।

नेपाल पर्यटन बोर्डले युवापुस्तालाई गन्तब्य प्रवर्द्धनमा आकषिर्त गर्ने उद्देश्यले यस्तो अफर ल्याएको जनाएको छ । ‘देशदर्शन टिकटक कम्पिटिसन’ नाम दिइएको यो अभियान १ जनवरीबाट शुरु भएको छ । ३१ मार्चसम्म जारी रहने भएको छ । अहिलेसम्म बोर्डले प्रवर्द्धन नगरेका नयाँ गन्तब्यहरुको भिडियो टिकटकरले ल्याउनु पर्नेछ ।

अहिले नै चर्चित बनेका पर्यटकीय गन्तव्यको भिडियोले मान्यता पाउने छैनन् । टिकटिक भिडियोको विषयवस्तुमा लुकेका सांस्कृतिक विषयवस्तुलाई समेत समेट्न सकिनेछ । टिकटक यूजर्सले नेपाल पर्यटनको बोर्डको टिकटक आइडीलाई फलो गर्नुपर्छ । त्यसपछि आफ्नो भिडियोमा बोर्डको आइडीमा ट्याग गर्नुपर्छ । यसबाहेक भिडियो पोष्ट गर्दा हृयासट्याग ‘नेपालटूरिजमबोर्ड’ र हृयासट्याग ‘देशदर्शन’ समेत राख्नु पर्ने भएको छ । भिडियो १५ सेकेन्डदेखि १ मिनेटसम्मको हुनुपर्ने शर्त छ । अंग्रेजी र नेपाली मध्ये एक भाषामा गन्तब्य प्रवर्द्धन सम्बन्धी भ्वाइस राख्न सकिनेछ ।