फिचर

एनएसजेफ स्पोर्ट्स अवार्डका लागि खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक, को को परे ?

काठमाडौं । नेपाल खेलकुद पत्रकारले हरेक वर्ष प्रदान गर्ने विभिन्न खेल विधाको अवार्डका लागि मनोनयन सार्वजनिक गरिएको छ । १७ औं संस्कणको ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत चार विधाको मनोनयन मंगलबार सार्वजनिक भएको हो । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)का अनुसार चार विधामा मनोनित खेलाडी तथा प्रशिक्षकको नाम सार्वजनिक भएको छ ।

साविकमा जस्तै मञ्चले वर्ष पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरेको छ । वर्ष पुरुषको मनोनयनमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, करातेका मन्देकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ मनोनयनमा पर्न सफल भएका छन् ।

वर्ष महिला खेलाडीमा करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ मनोनयनमा परेको मञ्चले जनाएको छ । वर्ष युवा खेलाडीमा भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकी सीना लिम्बु मादेन, गल्फका सुवास तामाङ, जुडोकी पुनम श्रेष्ठ र तेक्वान्दोका भूपेन श्रेष्ठ मनोनयनमा परेका छन् ।

वर्ष प्रशिक्षकमा उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्की मनोनयनमा परेको जनाइएको छ । नेपाल खेलकुद पत्रकार मञ्चका सचिव गोविन्द रेग्मीको संयोजकत्वमा गठित ११ सदस्यीय छनोट समितिले खेलाडी तथा प्रशिक्षकको छनोट गरेको जनाएको छ ।

२०७६ सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त उपलब्धिका आधारमा खेलाडीलाई मनोनित गरिएको हो । मञ्चले पिपल्स च्वाइस विधाको मनोनयन भने यसअघि नै सार्वजनिक गरेको थियो । यस विधामा पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेका छन् ।

उनीहरुबाट इ–सेवामार्फत भोटिङ, फेसबुक लाइक, आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य र विभिन्न राष्ट्रिय संघका मुख्य प्रशिक्षकको भोटको आधारमा पिपल्स च्वाइस विधाको विजेता छनोट हुने भएको छ। कार्यक्रममा पारा एथलिट, स्पेसल, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर अवार्ड र अन्तर्राष्ट्रिय खेल पत्रकारलाई समेत सम्मान गरिँदै आएको छ ।

कार्यक्रम २८ पुसमा हुनेछ । वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्छन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित केल्मी, डिसहोमबाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्ने भएका छन् ।