मनोरञ्जन

इण्डोनेसिया-काठमाडौं सिधा हवाई सम्पर्कमा जोडिदै

काठमाडौं । अब काठमाडौं र इन्डोनेसिया सीधा हवाई सम्पर्कमा जोडिने भएका छन् । इन्डोनेसियाको राष्ट्रिय ध्वजाबाहक वायुसेवा कम्पनी गरुडा इन्डोनेसियाले त्यहाँको राजधानी जकार्ताबाट नेपालको राजधानी काठमाडौंमा सिधा उडानको योजना सार्वजनिक गरेको हो ।

कम्पनीले नेपालमा सोसाइटी इन्टरनेशन ट्राभल सर्भिसलाई जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्ति गर्दै यस्तो तयारी थालेको हो । कम्पनीका अनुसार आगामी जुन, जुलाईबाट गरुडा इन्डोनेसियाले नेपालमा उडान बिस्तारको योजना बनाएको छ । अहिले इन्डोनेसियामा मलेसियाबाट मालिन्दो एयरले उडान गर्छ ।

यो कम्पनीले क्वालालाम्पुरमा ट्रान्जिट गरी इन्डोनेसिया सेवा दिइरहेको छ । गरुडा आएपछि क्वालालाम्पुर ट्रान्जिट हुनुपर्दैन । नेपालबाट जाकार्ता, बालीलगायत गन्तब्यमा नेपाली यात्रुको चाप बढेसँगै वायुसेवा कम्पनीको विजनेश पनि उत्तिकै बढेको छ ।

कम्पनीले नेपालबाट जापान र अष्टे्लिया जाने यात्रुलाई समेत लक्षित गरी उडान गर्ने बताइएको छ । यी मुलुकका लागि गरुडाले जाकार्तामा ट्रान्जिट गरी सेवा दिने भएको छ । इन्डोनेसियामा नेपाली नागरिकले अनअराइभल भिसा सुविधा प्राप्त गर्छन् । सोहीकारण समेत इण्डोनेसिया यात्रामा धेरै नेपाली जाने गरेका छन् ।