विश्व

बाइडेनको सपथ अगाडी अमेरिकामा पुनः हिंसाको चेतावनी

काठमाडौं । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ ग्रहण समारोह जनवरी २० मा हुने छ । यस अगाडी राष्ट्रपति ट्रम्प समर्थक कार्यकर्ताले अमेरिकामा हिंसा मच्याउन सक्ने चेतावनी अमेरिकी सुरक्षा एजेन्सीले दिएको छ । अमेरिकी संचारमाध्यमहरुका अनुसार अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबिआई)बाट यस्तो चेतावनी आएको हो ।

उसले राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले फेरि हिंसा फैलाउन सक्ने चेतावनी दिएको हो । बाइडेनको सपथअघि वासिङ्टन र ५० राज्यकै ठूला सहरमा ट्रम्प समर्थकले प्रदर्शन गर्न लागेको बताइएको छ । ती प्रदर्शनले हिंसा भड्किन सक्ने एफबिआईको चेतावनी रहेको छ ।

उता, अमेरिकी रक्षा मन्त्रालयले बाइडेनको सपथका लागि १५ हजार नेशनल गार्ड खटाउन स्वीकृति दिएको छ। यसबाट पनि सुरक्षा संवेदनशिलता प्रष्ट हुने संचारमाध्यमको विश्लेषण रहेको छ । अघिल्लो साता ट्रम्प समर्थकले संसद भवनमा आक्रमण गरेका थिए । त्यस क्रममा ५ जनाको मृत्यु भइसकेको छ ।
एजेन्सी