मनोरञ्जन

आज माघे संक्रान्ती पर्व, माघिको उपलक्ष्यमा सार्वजनिक बिदा

काठमाडौं । आज माघे संक्रान्ती, विभिन्न समुदायमा विविध परम्परा अनुसार यो पर्व मनाइर्दछ । सरकारले यस दिनको उपलक्ष्यमा सार्वजनिक बिदा समेत घोषणा गरेको छ । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्तिका अवसरमा नेपाल भित्र र बाहिर रहेका नेपालीले स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाउने गर्छन् ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति भनिएको हो । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिने गरिन्छ ।

आज देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्न ठूलो संख्यामा मानिस पुग्छन् । धर्मसिन्धुमा माघे संक्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको छ । यस दिन घ्यु, चाकु, तिलका लड्डु, खिचडी, सखरखण्ड, तरुल लगायत परिकार खाने प्रचलन रहेको छ ।