फिचर

बाइडेनले घोषणा गरे १.९ ट्रिलिययन डलरको राहत, बेरोजगारलाई साप्ताहिक ४ सय !

काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनको राहत प्याकेज १ दशमलव ९ ट्रिलियन डलरको राहत प्याकेज घोषणा गरेका छन् ।

स्थानीय समयअनुसार बिहीवार राति उनले जनताको नाममा सम्बोधन गर्दै यो राहत प्याकेज घोषणा गरेका हुन्।

प्याकेजमा राहत चेक, बेरोजगार भत्ता, साना व्यापारीलाई सहयोग र कोरोनाविरुद्धको खोपलाई थप सहयोग समेटिएको छ।

संसदबाट पारित र जनवरीको पहिलो सातादेखि प्राप्त ६ सय डलरको राहत चेकका अतिरिक्त १४ सय डलरको राहत चेक जोडेर कुल रकम २ हजार डलर प्रस्ताव गरिएको छ ।

डेमोक्रेटिक सांसदहरुले प्रतिनिधिसभाबाट २ हजार डलरको राहत चेक पारित गरेपनि रिपब्लिकनहरुले सिनेटमा रोकेका थिए । अब सिनेटमा पनि डेमोक्र्याट्सको बहुमत हुने भएको छ ।

बेरोजगारी विमा रकमका अतिरिक्त साप्ताहिक ३ सय डलर प्रदान गरिदै आएकोमा बाइडेनको प्याकेजमा त्यसलाई बढाएर ४ सय डलर बनाउने उल्लेख छ । महामारी बेरोजगारी कार्यक्रमहरु मार्च १४ सम्ममात्र कायम रहेकोमा बाइडेनको प्याकेजमा त्यसलाई सेप्टेम्बरसम्म लम्बाउने विषय समावेश छ ।

बाइडेनको योजनामा भाडा सहायता कार्यक्रमका लागि २५ बिलियन डलर प्रदान गर्ने उल्लेख छ । यो रकम डिसेम्बरमा संसदबाट पारित २५ बिलियन डलरका अतिरिक्त हुनेछ । महामारीमा काम गुमाएका र कम आम्दानी भएका अमेरिकनलाई भाडा सहायताका लागि यो कार्यक्रम ल्याइएको हो ।

प्याकेज प्रस्तावमा थप ५ बिलिलयन युटिलिटी बिलहरु तिर्न नसकेका कम आम्दानी भएका परिवारका लागि छुट्याइएको छ । त्यस्तै घरबारविहिनताको अवस्थाको जोखिममा रहेकाहरुको सहायताका लागि ५ बिलियन डलर छुट्याइएको छ ।

बाइडेनको प्याकेजमा आगामी सेप्टेम्बरसम्म फुड स्ट्याम्पमा १५ प्रतिशत बृद्धि गर्ने उल्लेख छ । बालबालिकाहरुको ट्याक्स क्रेडिट बढाउने विषय पनि प्याकेजमा उल्लेख छ । ६ बर्ष मुनीका बालबालिकाहरुका लागि ३६ सय डलर र ६ देखि १७ बर्षसम्मका बालबालिकाहरुका लागि ३ हजार डलर ट्याक्स क्रेडिट प्याकेजमा समावेश छ ।

बाइडेनको प्याकेजमा इमर्जेन्सी तलबी विदाको सुविधा सेप्टेम्बरसम्म लम्बाउने उल्लेख छ । साना विजनेशहरुलाई पेचेक प्रोटेक्सन कार्यक्रम बाहेकको राहत कार्यक्रमका लागि १५ बिलियन डलर छुट्याउने पनि प्याकेजमा समावेश छ । बाइडेनले २० जनवरीमा शपथ लिएपछि संसदमा यो प्रस्ताव पेश हुने छ ।

अहिले सिनेटमा राष्ट्रपति ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव पनि रहेकाले सिनेटले ट्रम्पको कार्यकाल सकिएपछि यस प्रस्तावलाई कसरी अगाडी बढाउछ भन्ने स्पष्ट भइसकेको छैन ।