फिचर

पेट्रोलियम पाइपलाइनमा प्वाल पारी डिजेल चोरीको प्रयास

काठमाडौं । नेपाल–भारत पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनमा प्वाल पारेर डिजेल चोरी भएको भन्दै आज भारतीय संचारमाध्यमले खुलासा गरेका छन् । मोतीहारी अमलेखगञ्ज पाइपलाइन अन्तर्गत नेपाली सीमाबाट एक सय किलोमिटर पर बिहारको सिवान अन्तर्गत नविगन्जमा पाइपलाइन फुटाएर हजारौं लिटर डिजेल चोरी नवभारत टाइम्सले उल्लेख गरेको छ ।

यता, नेपाल आयल निगमले भने पाइपलाइनमा आक्रमण भएको जानकारी भएको तर डिजेल चोरीको जानकारी प्राप्त नभएको प्रतिक्रिया नेपाली संचारमाध्यमलाई दिएको छ । पाइपलाइनबाट नियमित रुपमा डिजेल आपूर्ति भइरहेको निगमको भनाई छ । पाइपलाइनमा आक्रमणलगत्तै भारतीय आयल कर्पोरेसनको मोतीहारीस्थित प्रणालीमा प्रेसर कम भएको र पाइपलाइनमा क्षतिको जानकारी भारतीय पक्षले तुरुन्तै पाएको निगमको दाबी छ ।

पाइपलाइन आक्रमणबाट भएको क्षति नेपालले व्यहोर्न नपर्ने निगमको भनाई छ । पाइपलाइनमा क्षति गर्नेलाई भारतीय अधिकारीले पक्राउ गरेर कानुनी कारबाही सुरु गरेको जानकारी पाइए पनि विस्तृत विवरण भने आइनसकेको बताइएको छ ।

भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइन निर्माण गरिएको छ । सो पाइपलाइनबाट हाल डिजेल आउने गर्दछ । नेपाल र भारतका प्रधानमन्त्रीले गत वर्ष भदौ २४ गते संयुक्तरुपमा पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेका थिए ।