समाचार

स्वदेश फर्किए परराष्ट्र मन्त्री, भारतसँग केके विषयमा कुरा भयो ?

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमण पुरा गरी स्वदेश फर्किएका छन् । बिहिबार दिल्ली पुगेका उनी शुक्रबार भने नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिएका थिए । स्वदेश फर्किएपछि विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै मन्त्री ज्ञवालीले कोरोना खोपका लागि भारतले नेपाललाई प्राथमिकतामा राखेको बताए ।

भारत भ्रमणले दुई देशको घनिष्ठ, मैत्रिपूर्ण एवम् बहुआयामिक सम्बन्धलाई थप मजबुद पार्न योगदान गर्ने उनको भनाई छ । कोरोनाका कारण बन्द गरिएका हवाई तथा स्थल मार्ग खुला गर्दै जाने, हुलाकी सडकको निर्माण भएका खण्ड हस्तान्तरण प्रक्रिया अगाडि बढाउने र बाँकी काम छिटो सक्ने सहमति भएको समेत उनले जानकारी दिए ।

उनका अनुसार बैठकमा रक्सौल काठमाडौं रेलमार्ग निर्माण कार्यको फिल्ड लोकेशन सर्भेका लागि एमओयू अन्तिम चरणमा पुगेकाले शिघ्र काम शुरु गर्ने सहमति बनेको छ । महाकालीमा निर्माणाधिन ४ लेनको सडक पुललाई भारतको राष्ट्रिय सडक सञ्जालसँग जोड्न भारत सहमत भएको छ ।

नेपाल भारत बिचको पारवहन र रेलसम्बन्धी सन्धि, सम्झौताहरु पुनरावलोकनको प्रक्रिया छिटो सम्पन्न गर्ने निर्णय समेत भएको उनले उल्लेख गरे । कृषिमा थप सहकार्य गर्ने तथा जि टु जि प्रक्रियामा मल खरिद गर्ने एमओयूलाई गति दिने सहमति लगायत निर्णय समेत बैठकमा भएको उनले जनाए ।