फिचर

उत्पादनमुलक उद्योगलाई लकडाउन अवधिभरको विद्यूत डिमाण्ड शूल्क छूट दिइने

काठमाडौं । उत्पादनमुलक उद्योगहरुले लकडाउन अवधिभरको विद्यूत डिमाण्ड शूल्कमा छूट पाउने भएका छन् । अर्थ मन्त्रालयका अनुसार यो निर्णयको कार्यान्वयन आजबाट हुन लागेको हो । सरकारले कोरोनाका कारण समस्यामा परेका उद्योग तथा व्यवसायले प्रयोग गर्दै आएको बिजुलीको डिमान्ड शुल्कमा छुट दिने निर्णय गरेको हो ।

यस्तो व्यवस्था बजेट मै उल्लेख थियो । लामो समयदेखि व्यवसायीले डिमान्ड शुल्कमा छुट दिन माग समेत गरिरहेका थिए ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो निर्णय कार्यान्वयनबाट उद्योग लाभान्वित हुने र कोभिडबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानमा थप सहयोग पुग्ने बताएका छन् । औद्योगिक व्यवसाय नियमावली, २०७६ मा उल्लेखित ५८ प्रकारका उद्योगलाई आधार मानेर छुट दिने तयारी छ ।

चालु आर्थिक वर्षको बजेटमा कोभिड १९ का कारण प्रभावित उत्पादनमूलक उद्योगलाई लकडाउन अवधिभर विद्युत डिमान्ड शुल्क छुट दिने र माग कम हुने समयको विद्युत खपतमा ५० प्रतिशत छुट दिने उल्लेख छ ।