फिचर

नेप्से इतिहासकै उच्च विन्दुमा, लगानीकर्ताको सम्पत्ति साढे ३१ खर्ब नाघ्यो

काठमाडौं । पछिल्लो समय दिनदिनै नयाँ इतिहास रच्दै गएको सेयर बजारले आज फेरि नयाँ रेकर्ड बनाएको छ । आइतबार मात्रै इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो ।

नेप्सेले २३३२ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । नेप्सेले २३३० विन्दु पार गरेको इतिहासमै पहिलो पटक हो । यसअघि आइतबार नेप्सेले इतिहासकै उच्च २३१५ विन्दु पार गरेको थियो ।

सेयर बजरले हरेक दिन नयाँ रेकर्ड बनाउँदै आएको आज लगातार सातौं दिन हो । गत साताको आइतबारदेखि नेप्सेले हरेक दिन पुरानो रेकर्ड तोड्दै आएको छ ।

नेप्से इतिहासकै उच्च विन्दुमा पुगेसँगै लगानीकर्ताको सम्पत्ति बढेर करिब साढे ३१ खर्ब नाघेको छ । यो सेयर बजार इतिहासमै हालसम्मकै धेरै हो ।

आज सेयर बजार मापक सूचक नेप्से १७.३१ अंकले बढेर २३३२.३२ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०७ कम्पनीको ६ अर्ब ३१ करोड ४६ लाख ६४ हजार १६६ रुपैयाँ बराबरको १ करोड ५४ लाख ९६ हजार ७१४ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १२ वटा समूहमध्ये जलविद्युत् समूह बाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १९९.४७ अंकले बढेको छ भने जलविद्युत् ११.५२ अंकले घटेको छ ।

कारोबारमा आएका २०७ कम्पनीमध्ये १२५ कम्पनीको सेयर मूल्य बढेको छ भने ६५ कम्पनीको मूल्यमा गिरावट आएको छ । १७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज लगानीकर्ताको रोजाइमा प्रभु बैंक परेको छ । यसको सबैभन्दा धेरै ३३ करोड ४६ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल टेलिकम २६ करोड र एनआइसी एशिया बैंक २० करोडसहित शीर्ष तीनमा रहे ।

दोहोरो अंकले बढेको बजारमा आधा दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सिभिल लघुवित्त, विशाल बजार, गोर्खा फाइनान्स, नारायणी विकास बैंक, स्वाभिमान लघुवित्त, गुराँस लघुवित्त, आरम्भ चौतारी लघुवित्त, सामुदायिक लघुवित्त, एचआइडीसीएलका सेयर धनीले १० प्रतिशत कमाएका छन् ।

यसैगरी, आज प्रभु लाइफ इन्स्योरेन्स, तारगाउँ होटल, कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, वरुण हाइड्रोपावर, कामना सेवा विकास बैंक र प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

बढ्दो बजारमा आज समृद्धि फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ४.१४ प्रतिशत गुमाएका छन् ।