स्वास्थ्य

भारतमा कोरोना खोप लगाएका ५८० जना बिरामी, दुईको मृत्यु

नयाँ दिल्ली । अहिले संसारका विकसित मुलुकहरुले धमाधम कोरोना भाइरसविरुद्धको खोप लगाइरहेका छन् । खोप ९० प्रतिशतभन्दा बढी प्रभावकारी रहेको प्रमाणित भएपछि सर्वसाधारणको प्रयोगमा ल्याइएको हो । तर, यसले कतिपय मानिसमा भने असर देखाउन थालेको छ ।

नर्वेमा २९ जनाको ज्यान गएको खबर गत साता आएको थियो । यता, छिमेकी मुुलुक भारतमा समेत कोरोनाविरुद्धको खोप लगाएका ५८० जना बिरामी परेका छन् । दुई जनाको मृत्यु भइसकेको छ । ७ जना गम्भीर छन् ।

भारतमा शनिबारबाट खोप अभियान सुरू भएको हो । शनिबार कर्नाटक राज्यमा कोरोना खोप लगाएका ४३ वर्षीय एक व्यक्तिको मृत्यु भएको छ । उत्तर प्रदेशको मुरादाबादमा पनि कोरोना खोप लगाएका ५२ वर्षीय व्यक्तिको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।

भारतमा अहिलेसम्म ३ लाख ८१ हजार जनामा खोप दिइसकिएको छ । नेपालमा समेत भारतबाटै कोरोना खोप ल्याउने तयारी छ । यसैसाता भित्र खोप ल्याउने गरी तयारी गरिएको स्वास्थ्य मन्त्रालयको भनाई छ ।