फिचर

ह्वाइट हाउसले यसरी गर्नेछ नयाँ अमेरिकी राष्ट्रपति जो बाइडनलाई स्वागत

बीबीसी । बुधवार बाइडन प्रशासनले शासन सम्हाल्दै गर्दा ट्रम्प प्रशासनका तन्तुहरू विस्थापित हुनेछन्। कर्मचारीका डेस्कहरू खाली पारिनेछन्, कोठाहरू सफा गरिनेछन् अनि राजनीतिक नियुक्ति पाएका नयाँ समूहमा सदस्यहरूले राष्ट्रपतिको सहयोगीको भूमिका सम्हाल्नेछन्। नयाँ प्रशासनको आगमनले सरकारको केन्द्रमा यसरी व्यापक परिवर्तन ल्याउनेछ।

गत साता एक साँझ ट्रम्प प्रशासनका एक केन्द्रीय अधिकारी एवं नीति सल्लाहकार स्टीभन मिलर वेस्ट विङमा फुर्सदिला भेटिएका थिए।मिलरले ट्रम्पको राष्ट्रपतिका रूपमा प्रारम्भिक दिनदेखि उनका भाषणहरू लेखेका थिए अनि नीतिहरू मस्यौदा गरेका थिए। उनी राष्ट्रपति ट्रम्पको त्यो सानो समूहमा पर्छन् जो चार वर्षदेखि अन्त्यसम्म साथ रह्यो।

भित्तामा अडेस लगाउँदै उनी सहकर्मीसँग त्यसै दिन अबेर हुने एउटा बैठकबारे कुरा गर्दै थिए। उनी त्यहाँबाट फर्किने कुनै हतारमा देखिएका थिएनन्। सामान्यतया वेस्ट विङ निकै व्यस्त देखिन्छ तर त्यतिखेर लगभग सुनसान थियो। फोनहरू बन्द थिए। रित्ता कार्यालयहरूमा कागजपत्रका चाङ अनि नखोलिएका चिठीपत्रका रास थिए। यस्तो लाग्थ्यो त्यहाँका कर्मचारी हतारमा हिँडेका थिए र अब फर्किनेवाला थिएनन्। ज्यानुअरी ६ को क्यापिटल दङ्गापश्चात् दर्जनौँ वरिष्ठ अधिकारीहरूले कार्यालय छाडेका थिए। मिलरजस्ता थोरै विश्वासपात्रहरू मात्र बाँकी थिए।

जब उनको सहकर्मीसँगको वार्तालाप सकियो उनी त्यहाँबाट विस्तारै निस्किए। जब मैले उनलाई अब कता जाँदै हुनुहुन्छ भनेर सोधेँ, उनी मुस्कुराए। कार्यालयमा फर्कँदैछु, भन्दै उनी हलबाट सुस्तरी हिँडे।

निकै उतारचढाव छ

बाइडनको शपथको दिन मिलरको कार्यालय कोठा पनि खाली भइसकेको हुनेछ। बाइडनको टोली आउँदा त्यहाँ पहिले उनी वा उनका कोही सहकर्मी थिए भन्ने कुनै चिह्न बाँकी रहनेछैन। वेस्ट विङका कार्यालयहरू खाली गर्ने अनि दुई राष्ट्रपतिको आउजाउको कार्य निकै पुरानो परम्पराको एउटा पाटो हो। अनि यो प्रक्रिया सधैँ हार्दिकताले परिपूर्ण पनि हुँदैन।

सन् १८६९ महाभियोग लागेका डेमोक्र्याट राष्ट्रपति एन्ड्रु जनसनले नयाँ राष्ट्रपति युलिसेस एस ग्रान्टलाई स्वागत गरेनन् र शपथ कार्यक्रममा पनि सहभागी भएनन्। जनसनलाई हटाउने काममा समर्थन जनाएका ग्रान्टलाई खासै आश्चर्य पनि लागेन। यो वर्षको राष्ट्रपतीय सङ्क्रमण असाधारण रूपमा तिक्ततापूर्ण बनेको छ। सामान्यतया यो प्रक्रिया निर्वाचनलगत्तै सुरु हुने गर्छ। तर ट्रम्पले पराजय अस्वीकार गरेकाले यस पटक यो काम हप्तौँपछि मात्र सुरु हुन सक्यो। अनि राष्ट्रपति ट्रम्पले बाइडनको शपथ कार्यक्रममा भाग नलिने भनिसकेका छन्। सम्भवत उनी ह्वाइट हाउसबाट सोझै फ्लोरिडास्थित मारलागो क्लब जानेछन्।

तापनि हस्तान्तरणका अन्य कार्य पहिले झैँ हुनेछन्। स्थापित प्रणालीले काम गरिरहेको छ, प्रिन्सटन विश्वविद्यालयका अमेरिकी इतिहासका प्राध्यापक सन विलेन्चले भने। यो निकै उतारचढावपूर्ण बनेको छ। तर पनि सङ्क्रमण सम्पन्न हुनेछ।सामान्य समयमा पनि यो फेरबदलको बन्दोबस्ती निकै जटिल हुन्छ। यसमा ज्ञानको हस्तान्तरणदेखि लिएर कर्मचारीहरूको व्यापक स्तरको परिवर्तन हुने गर्छ।

स्टीभन मिलर करिब ४ हजार जना कर्मचारीमध्ये एक हुन् जसलाई ट्रम्प प्रशासनले नियुक्त गरेको थियो र जो अब बाइडन प्रशासनको आगमनसँगै जागिरबाट विस्थापित हुनेछन्। वाशिङ्टनस्थित सेन्टर फर प्रेजिडेन्शल ट्रान्जिशनका अनुसार औसतमा डेढदेखि तीन लाख मानिसहरूले यी कामका निम्ति आवेदन दिने गर्छन्। करिब १ हजार १०० पदका निम्ति सिनेटको अनुमोदन पनि आवश्यक हुन्छ। सबै पदपूर्ति गर्न महिनौँ वा वर्षौँसम्म लाग्छ।

चार वर्षभरिका नीतिपत्रहरू तथा अन्य महत्त्वपूर्ण कागजपत्रहरू राष्ट्रिय अभिलेखालयमा लगिने जहाँ तिनलाई १२ वर्षसम्म गोप्य राखिनेछ त्यसका केही अंश सो समयअगावै सार्वजनिक गर्न राष्ट्रपति स्वयंले निर्णय गरेकोमा बाहेक।

महत्त्वपूर्ण दिन

राष्ट्रपतिको रूपमा ट्रम्पको अन्तिम साताको एक साँझ उनका प्रेस सचिव केली मक्इनानीको कार्यालयको कोठाको ढोका आंशिक खुला थियो।मक्इनानी ट्रम्पको कडा प्रतिरक्षा गर्नेमध्ये पर्छिन्। सधैँ चिटिक्क देखिने उनी अस्तव्यस्तताका माझ पनि शान्त रहन्छिन्। उनको कार्यालय पनि निकै व्यवस्थित देखिन्छ।

यी अन्तिम दिनहरू सामान्यतया नियन्त्रित अस्तव्यस्तताले पूर्ण हुने गरेको केट एन्डरसन ब्राउरले बताइन्। उनले ह्वाइट हाउस द रेजिडेन्स नामक किताब लेखेकी छन्।

ह्वाइट हाउसका फर्निचरहरू जस्तो कि ओभल अफिसको रिजोलूट डेस्क, अधिकांश कलाकृति, कपप्लेट तथा अन्य सामग्री सरकारी हुन् र त्यहीँ रहन्छन्।

तर हलवेमा टाँगिएका राष्ट्रपतिका चित्रजस्ता र अन्य सामग्री भने झिकिन्छन्।

कैयौँ सामग्री कर्मचारीहरूले झिकेर लगिसकेका छन्। हिलजुत्ता लगाएकी एक महिला कर्मचारीले इस्ट विङबाट प्रथम महिला मेलानिया ट्रम्पका कैयौँ ठूला चित्रहरू झिकेर लग्दै थिइन्। निकै ठूलो आकारका जम्बो भनिने ती चित्रहरू राष्ट्रिय अभिलेखालयमा लैजान लागिएको उनले बताइन्।

लुगाफाटा, गरगहना जस्ता ट्रम्प परिवारका व्यक्तिगत सामानहरू भने उनीहरूको नयाँ निवासमा लगिनेछन् सम्भवत फ्लोरिडाको मारलागोमा। अनि यो वर्ष सम्पूर्ण परिसर निकै घोटेर सफा गरिनेछ।

विगत केही महिनामा राष्ट्रपति लगायत मिलर अनि ह्वाइट हाउसमा कार्यरत दर्जनौँ व्यक्तिहरू कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए। यो छतले भवन र यसका १३२ कोठाहरूमा निकै सरसफाइ गरिनेछ। यी बन्दोबस्तीका निम्ति जिम्मेवार सङ्घीय निकाय जेनरल सर्भिसेज एडमिनिस्ट्रेशनकी एक प्रवक्ताका अनुसार भर्‍याङका रेलिङदेखि लिएर लिफ्टका बटनसम्म पुछपाछ र स्यानिटाइज गरिनेछन्।

ह्वाइट हाउस आउने नयाँ परिवारले आफ्ना किसिमका सजावट गर्ने गर्छन्। आफू आएको केही दिनमै ट्रम्पले ओभल अफिसमा एक लोकप्रियतावादी राष्ट्रपति एन्ड्रू ज्याकसनको फोटो टाँगेका थिए। उनले पर्दा सफा तथा सोफा फेर्न लगाएका थिए र सुनौलो रङ्गको दरी ओछ्याउन लगाएका थिए।

शपथको दिन उपराष्ट्रपति पेन्स र उनकी श्रीमतीले कमला ह्यारिस तथा उनका श्रीमान डग एम्हफका निम्ति आफ्नो भवन खाली गर्नेछन्। उनीहरू ह्वाइट हाउसभन्दा केही माइल पर रहेको नेभल अब्जर्भेटरी परिसरस्थित १९औँ शताब्दीमा निर्मित सरकारी भवनमा रहनेछन्।

एउटा कालखण्डको समापन

नीति सल्लाहकार स्टीभन मिलर हतारमा नभए पनि अरूले भने हतारहतार कार्यालय खाली गरे। यो मेरो यहाँ अन्तिम दिन हो,एक पुरुषले भन्दै थिए। उनले नर्थ लनमा आफ्ना छोरोहरूको फोटो खिचे। उनको काँधमा झोला भिरिएको थियो। नेश्नल सेक्युरिटीका केही अधिकारीहरूले वेस्ट विङअगाडि उभिएर मलाई उनीहरूको फोटो खिचिदिन भने।

मरीन गार्ड पनि देखियोस् है, एक जनाले भने। उनको सङ्केत ओभल अफिसमा राष्ट्रपति रहेको जनाउनेगरी त्यहाँको ढोकामा उभिएर रहने मरीन गार्ड पनि तस्बिरमा देखियोस् भन्ने थियो। ती अधिकारीहरू हल्का रमाइलो र ठट्टा गर्दै थिए।

ह्वाइट हाउसका यी राजनीति नियुक्तिप्राप्त कर्मचारीहरू हँसिलो मुद्रामा थिए किनभने हप्तौँदेखि उनीहरू अन्योलमा थिए। उनीहरूका हाकिमले निर्वाचनको वैधतामाथि चुनौती दिइरहेको भए पनि उनीहरूलाई आफ्नो कार्यकाल सकिन लागेको आभास भइहेको थियो। अब भने बल्ल उनीहरूले ढुक्कसाथ आफ्नो आगामी भविष्यबारे सोच्न सक्नेछन्।

एक पुरुषले त योजना बनाइसकेको जस्तो देखिन्थ्यो। परिसरमा अर्का मित्रसँग जम्काभेट हुनेबित्तिकै उनले अब सङ्क्रमणपश्चात् भेटघाट गर्ने बताए। तर कहाँ भेट्ने भन्नेबारे कुरा भयो। सायद ग्रीक आयल्समा वा अन्य कतै भेट होला।

हो, हो। पक्का, उनका मित्रले हाँस्दै जबाफ फर्काए। अभिवादन गर्दै उनीहरू आफ्ना बाटा लागे।