स्वास्थ्य

सुनसरीमा सडक दुर्घटना, तीन जनाको मृत्यु

सुनसरी । सुनसरीमा भएको सडक दुर्घटनामा तीन जनाको ज्यान गएको छ । दुहबी–इनरुवा सडकखण्डमा माइक्रोबस र मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा उक्त हताहती भएको हो ।

प्रहरीका अनुसार मंगलबार दिउँसो दुहबी नगरपालिका–१० स्थित सडकखण्डमा दुहबीबाट ईनरुवातर्फ जाँदै गरेको प्र १–०२–००१ ज ३८६८ नम्बरको माइक्रोबस र दुहवीतर्फ आउँदै गरेको को ३४ प ४६९४ मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी इनरुवा– ३ का ४४ वर्षीय बिर्ख मण्डल र माइक्रोबसका सहचालक सप्तरी राजविराज– १ का २२ वर्षीय शंकर यादव छन् ।

एक मृतकको पहिचान खुलेको छैन । दुर्घटनामा दश जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको स्थानीय जीवनज्योति मेडिकलमा उपचार भइरहेको छ । तीव्र गतिका कारण दुर्घटना भएको अनुमान प्रहरीको छ ।