विश्व

बाइडेनको सपथको तयारी पुरा, २५ हजार सुरक्षाकर्मी तैनाथ

Photo : The Economic Times

वासिंटन डिसी । ट्रम्प समर्थकले हिंसात्मक आन्दोलन गर्न सक्ने आशंका सहित अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको सपथ ग्रहण कार्यक्रमका दौरान २५ हजार सुरक्षाकर्मी खटाइएको छ । शपथ ग्रहण कार्यक्रमको तयारीको काम भने पुरा भएको अमेरिकी संचारमाध्यमले जनाएका छन् ।

शपथ कार्यक्रमका दौरान हुन सक्ने सम्भावित अप्रिय घटनालाई मध्यनजर गर्दै अमेरिकाका ५० वटै राज्यमा सुरक्षा सतर्कता भने बढाइएको बताइएको छ । अमेरिकी संसद् भवन क्यापिटल झकिझकाउ पारिएको छ ।

यद्दपी यस वरपर, पेनसिल्भानिया एभेन्यु र ह्वाइट हाउस आसपासमा समेत सर्वसाधारणको प्रवेश रोकिएको छ । यहाँ अग्ला बार लगाएर गतिविधि बन्द गरिएको हो । शपथग्रहण समारोहमा अमेरिकी सेनाको ब्याण्डले परम्परागत धुन बजाउने छ ।

बाइडनले बाइबल छुँदै सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ । उपराष्ट्रपतिका रुपमा कमला ह्यारिसले सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेयरबाट शपथ लिनेछिन् ।

शपथ ग्रहणपछिको सलामीपछि बाइडनले समारोहलाई सम्बोधन गर्ने गरी कार्यक्रम तय भएको छ । शपथ समारोहमा लेडी गागा, जेनिफर लोपेजलगायतले सांगितिक प्रस्तुति समेत दिने भएका छन् ।