फिचर

नेपाली सेयर बजारले फेरि नयाँ रेकर्ड, नेप्से २३४२ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा

काठमाडौं । पछिल्लो समय प्रायः दैनिक नयाँ इतिहास रच्दै गएको सेयर बजारले आज फेरि नयाँ रेकर्ड बनाएको छ ।

सोमबार मात्रै इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो ।मंगलबार सामान्य करेक्शन आएको बजारले आज फेरि नयाँ रेकर्ड बनाएको हो ।

नेप्सेले २३४२ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । नेप्सेले २३४० विन्दु पार गरेको इतिहासमै पहिलो पटक हो । यसअघि सोमबार नेप्सेले इतिहासकै उच्च २३३२ विन्दु पार गरेको थियो ।

नेप्से इतिहासकै उच्च विन्दुमा पुगेसँगै लगानीकर्ताको सम्पत्ति बढेर करिब साढे ३१ खर्ब नाघेको छ । यो सेयर बजार इतिहासमै हालसम्मकै धेरै हो ।

आज सेयर बजार मापक सूचक नेप्से १५.८७ अंकले बढेर २३४२.७६ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २११ कम्पनीको ६ अर्ब २१ करोड ९ लाख ६६ हजार २५ रुपैयाँ बराबरको १ करोड ५९ लाख ८१ हजार ९२ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १२ वटा समूहमध्ये ७ समूहको परिसूचकमा हरियाली छाएको छ भने ५ समूहको राताम्मे भएका छन् । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ७२९.३७ अंकले बढेको छ भने उत्पादनमूलक समूह ६२.९४ अंकले घटेको छ ।

कारोबारमा आएका २११ कम्पनीमध्ये ११६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७३ कम्पनीको मूल्यमा गिरावट आएको छ । २२ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज पनि लगानीकर्ताको रोजाइमा नेपाल लाइफ इन्स्योरेन्स परेको छ । यसको सबैभन्दा धेरै ६१ करोड ४० लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा प्रभु बैंक २९ करोड र नेपाल पुनर्बीमा कम्पनी २७ करोडसहित शीर्ष तीनमा रहे ।

दोहोरो अंकले बढेको बजारमा १३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बेस्ट फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, नारायणी विकास बैंक, नेपाल फाइनान्सका सेयर धनीले १० प्रतिशत कमाएका छन् ।

यसैगरी, आज प्रभु लाइफ इन्स्योरेन्स, नेपाल हाइड्रो डेभलपर, कर्णाली डेभलपमेन्ट बैंक, श्री इन्भेष्मेन्ट बैंक, रिलायन्स फाइनान्स, सेन्ट्रल फाइनान्स र सिन्धु विकास बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

बढ्दो बजारमा आज विशाल बजार कम्पनीका सेयरधनीले सबैभन्दा धेरै ३.९१ प्रतिशत गुमाएका छन् ।