विज्ञान प्रविधि

६० मुलुकमा पुग्यो कोरोनाको नयाँ भाइरस

जेनेभा । बेलायतबाट शुरु भएको कोरोना भाइरसको नयाँ प्रकृतिको भाइरस विश्वका ६० मुलुकमा पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले यस्तो पुष्टी गरेको हो । पछिल्लो एक सातामा मात्र थप १० मुलुकमा कोरोनाको नयाँ प्रकार फैलिएको डब्ल्यूएचओको भनाई छ ।

डब्ल्यूएचओले बुधबार दिएको जानकारीअनुसार बेलायतबाट फैलिएको कोरोनाको नयाँ प्रकारको कारण विश्वभर कोरोना संक्रमणको दर समेत वृद्धि भएको छ । अहिलेसम्म कोरोनाबाट विश्वभर २० लाख मानिसको मृत्यु भइसकेको छ । नयाँ प्रकारको कोरोना फैलिएसँगै अहिले धेरै मुलुकलाई थप संकटमा पारेको छ ।

त्यसो त मानिसहरु कोरोना खोप आएपछि अवस्था सामान्य हुने अपेक्षामा रहेका छन् । डब्ल्यूएचओका अनुसार बेलायतमा देखिएको कोरोनाको नयाँ प्रकारजस्तै दक्षिण अफ्रिकाबाट फैलिएको कोरोनाको अर्को प्रकार पनि अहिलेसम्म विश्वका २३ मुलुकमा फैलिसकेको छ ।

डब्ल्यूएचओका अनुसार पछिल्लो एक सातामा विश्वभर कोरोनाको कारण ९३ हजारको मृत्यु भएको छ । यो एकसातामा भएको सबैभन्दा धेरै मृत्यु
हो । यस अवधिमा ४७ लाख मानिसमा कोरोना संक्रमण पुष्टी भएको छ ।

बेलायतमा पाइएको कोरोनाको नयाँ प्रकार साधारण प्रकारको तुलनामा ५० देखि ७० प्रतिशतसम्म बढी संक्रामक रहेको बताइएको छ ।