फिचर

नेपालमै रासायनिक मल कारखाना स्थापना तयारीसम्बन्धी गृहकार्य थालियो

काठमाडौं । नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने सम्बन्धी सम्बन्धी गृहकार्य शुरु भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, कृषि तथा पशुपंछि विकास मन्त्री पद्माकुमारी अर्याल र सचिवसहित अर्थ मन्त्रालयमा बसेको बैठकमा नेपालमा रासायनिक मल कारखाना स्थापनाको तयारी सम्बन्धी छलफल भएको छ ।

बैठकमा रासायनिक मल कारखाना स्थापनाको प्रविधि र सम्भावित लागतबारे छलफल भएको मन्त्रालयले जनाएको छ । बैठकमा विश्वमा प्रचलनमा रहेका प्रविधि तथा तरिका प्राकृतिक ग्यास, वाटर इलेक्ट्रोलिसिस र हाइब्रिड मध्येबाट नेपालका लागि उपयुक्त हुने प्रविधि तय गर्नेबारे कुराकानी भएको अर्थ मन्त्रालयको जनाएको छ ।

अर्थमन्त्री पौडेलले थप छलफल गरी नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धी प्रविधि, लगानीको विधि र लागत समेतको प्रस्ताव तयार गरिने बताए ।

गत कार्तिक २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा रासायनिक मल कारखाना स्थापनाको प्रारम्भिक अध्ययन गर्नका लागि अर्थमन्त्रीको संयोजकत्वमा समिति गठन गरेको थियो। समितिको पहिलो बैठक आज बसेको हो ।