विश्व

बाइडेनले गरे राष्ट्रपतिको सपथ ग्रहण, ट्रम्प अनुपस्थित

वासिंटन डिसी । जो बाइडन अमेरिकाको ४६ औं राष्ट्रपति बनेका छन् । उनले आज राष्ट्रपतिका रूपमा पदको सपथ ग्रहण गरेका छन्। उनलाई अमेरिकी सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्ट्सले सपथ ग्रहण गराए । उनीसँगै उपराष्ट्रपति कमला ह्यारिसले समेत पदको सपथ ग्रहण गरेकी छिन् ।

उनी उक्त पदमा निर्वाचित प्रथम महिला हुन्। यसका साथै उनको नाममा पहिलो एसियाली र मुलको उच्च पदस्थ पदमा पुग्ने कीर्तिमान समेत बनेको छ ।

कमलालाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेअरले सपथ ग्रहण गराइन् । निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना उत्तराधिकारीको सपथ ग्रहण समारोहमा भाग नलिने पूर्वघोषणा बमोजिम नै सहभागिता जनाएनन्।

उनी आजै ह्वाइटहाउसबाट बिदा भएका छन् । आफ्ना उत्तराधिकारीको सपथ ग्रहण समारोहमा उपस्थित नहुने उनी चौथो अमेरिकी राष्ट्रपति बनेका छन् । उपराष्ट्रपति माइक पेन्स भने समारोहमा उपस्थित भई नयाँ प्रशासनलाई स्वागत गरेका छन् ।

उनी ट्रम्पको बिदाईमा समेत उपस्थित भएनन् । सपथ ग्रहण समारोहमा भूतपूर्व राष्ट्रपति बाराक ओबामा र मिसेल ओबामा, जर्ज डब्ल्यू बुश र लोरा बुश, बिल र हिलरी क्लिन्टन लगायतका पाहुना उपस्थित भएका छन् ।