स्वास्थ्य

भारतले दिएको खोप नेपालमा कहिलेबाट वितरण हुन्छ ?

काठमाडौं । बुधबार स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी र भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त रुपमा घोषणा गरेको खोप आज एयर इण्डियाको विमानबाट काठमाडौं ल्याईदैंछ ।

भारतले पहिलो चरणमा नेपाललाई १० लाख डोज खोप अनुदानमा दिएको हो । अक्सफोर्ड, एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिएको हो ।

विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्ने कार्यक्रम राखिएको छ । खोप भण्डारणको व्यवस्था टेकुस्थित स्वास्थ्य सेवा विभागमा मिलाइएको छ ।

विभागबाट प्रदेशको भण्डारण केन्द्रमा खोप पठाउने गरि तयारी छ । तोकिएका खोप केन्द्रहरुबाट पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने टोलीलगायतलाई खोप दिइने भएको छ ।

यद्दपी खोप वितरण तत्काल हुने छैन । कम्तिमा दुई साताको तयारीपछि मात्र नेपाल भित्र खोप वितरण शुरु हुने जनाइएको छ ।