फिचर

नेपाली सेयर बजारमा फेरि नयाँ रेकर्ड, २२ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । पछिल्लो समय प्रायः दैनिक नयाँ इतिहास रच्दै गएको सेयर बजारले आज फेरि नयाँ रेकर्ड बनाएको छ ।

बुधबार मात्रै इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो ।

नेप्सेले २३७४ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । नेप्सेले २३७० विन्दु पार गरेको इतिहासमै पहिलो पटक हो । यसअघि सोमबार नेप्सेले इतिहासकै उच्च २३४२ विन्दु पार गरेको थियो ।

आज माइक्रोफाइनान्स, जीवन बीमा र निर्जीन बीमा कम्पनीको सेयरमा उछाल आउँदा सेयर बजारले नयाँ इतिहास रचेको हो ।

नेप्से इतिहासकै उच्च विन्दुमा पुगेसँगै लगानीकर्ताको सम्पत्ति बढेर करिब ३२ खर्ब पुगेको छ । नेप्सेका अनुसार आज बजार पूँजीकरण ३१ खर्ब ८९ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । यो सेयर बजार इतिहासमै हालसम्मकै धेरै हो ।

आज सेयर बजार मापक सूचक नेप्से ३१.८७ अंकले बढेर २३७४.६४ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०९ कम्पनीको ७ अर्ब ७९ करोड ८५ लाख २८ हजार ४३३ रुपैयाँ बराबरको १ करोड ८१ लाख ५ हजार ६७१ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १२ वटा समूहमध्ये बैंकिङ र सामूहिक लगानी कोष बाहेक अन्य सबै समूहको परिसूचकमा हरियाली छाएको छ । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ५४०.२३ अंकले बढेको छ भने बैंकिङ समूह ३.८३ अंकले घटेको छ ।

कारोबारमा आएका २०९ कम्पनीमध्ये १४९ कम्पनीको सेयर मूल्य बढेको छ भने ४० कम्पनीको मूल्यमा गिरावट आएको छ । २० कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज लगानीकर्ताको माइक्रोफाइनान्स, जीवन बीमा र निर्जीन बीमा कम्पनीको सेयरमा झुम्मिएका छन् । आज पनि लगानीकर्ताको रोजाइमा नेपाल लाइफ इन्स्योरेन्स परेको छ । यसको सबैभन्दा धेरै ५३ करोड ३३ लाख रुपैयाँ बढीको कारोबार भएको छ । यससाता नेपाल लाइफको सर्वाधिक कारोबार हुँदै आएको छ ।

कारोबार रकमकै आधारमा नेको इन्स्योरेन्स २६ करोड र नेपाल पुनर्बीमा कम्पनी २२ करोडसहित शीर्ष तीनमा रहे ।

उच्च अंकले बढेको बजारमा करिब २ दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सपोर्ट माइक्रोफाइनान्स, समिट लघुवित्त, शिखर इन्स्योरेन्स, महिला सहयात्रा, ग्रामीण विकास, आशा, गुराँस, सूर्योदय, इन्फिनिटी लघुवित्तका सेयर धनीले १० प्रतिशत कमाएका छन् ।

यसैगरी, आज युनाइटेड इन्स्योरेन्स, सारथी नेपाल लघुवित्त, हिमालयन ऊर्जा कम्पनी, अरुण काबेली, गोर्खा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, माउन्टेन इनर्जी, श्री इन्भेष्मेन्ट फाइनान्स, सबैको लघुवित्त, युनाइटेड इदीमार्दी र कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

दोहोरो अंकले बढेको बजारमा आज नारायणी विकास बैंकका सेयरधनीले सबैभन्दा धेरै ६.७१ प्रतिशत गुमाएका छन् ।