खेलकुद

नेपाली क्रिकेट टीमका प्रशिक्षक वाटमोर सार्वजनिक, एकदिवसीय मान्यता कायम राख्ने प्रतिवद्धता

काठमाडौं । नेपाली क्रिकेट टिमका प्रशिक्षक डेभ वाटमोर आज औपचारिक रुपमा सार्वजनिक भएका छन् । उनलाई क्रिकेट एशोसिएशन अफ नेपाल (क्यान)ले १ जनवरीबाट लागु हुने गरी नेपालको प्रशिक्षकमा नियुक्त गरेको हो । आज औपचारिक कार्यक्रममार्फत उनले नेपालको एकदिवसीय मान्यता कायम राख्न आफ्नो प्रयास रहने बताएका छन् ।

वाटमोर हालै नेपाल आएका हुन् । नेपाल आउनु आफ्ना लागि विशेष रहेको भन्दै नयाँ चूनौतिका लागि तयार रहेको समेत बताए । एकदिवसीय मान्यता जोगाउँदै वरीयतामा सुधार ल्याउनु आफ्नो लक्ष्य हुने उनले बताए । नेपालले सन् २०२३ को मार्चसम्मका लागि एकदिवसीय मान्यता पाएको छ ।

नेपाललाई विश्वकपमा पुर्‍याउन भने सजिलो नभएको उनले स्वीकार गरे । यद्दपी विश्वकपका लागि प्रयास भने जारी रहने उनको भनाई छ । उनले भने, विश्वकप पुग्न धेरै गाह्रो हुन्छ, किनकी संसारभरका मुलुक यहाँ पुग्न चाहन्छन्, त्यसका लागि हामील निकै सुधार गर्नु पर्छ।

श्रीलंकाली मुलका वाटमोर अस्ट्रेलियामा हुर्किएका थिए । त्यहीबाट उनले नागरिकता मात्र लिएनन्, अस्ट्रेलियाबाट मुलुकका लागि क्रिकेट समेत खेलेका छन् । उनले यसअघि टेस्ट मान्यता प्राप्त श्रीलंका, बंगलादेश, पाकिस्तान र जिम्बावेलाई प्रशिक्षण गरेको अनुभव छ ।

भारतको यु१९ टिमदेखि आइपिएल टिम कोलकता नाइट राइडर्सलाई समेत उनले प्रशिक्षण दिइसकेका छन् । यसबाहेक उनीसँग सिंगापुरलाई समेत प्रशिक्षण गरेको अनुभव छ ।