समाचार

शहीदले देखेको सपनाको सार देशको समृद्धि र जनताको सुख हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदले देखेको सपनाको सार देशको समृद्धि र जनताको सुख भएको बताएका छन् । शहीद दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सुस्थिर राजनीति र विकासमा बाधा गर्नेहरुलाई संयुक्त रुपमा पराजित गर्नुपर्ने समेत उल्लेख गरेका छन् ।

शहीदको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई ‘समृद्ध र नेपालीलाई सुखी’ बनाउने उनको प्रतिवद्धता रहेको छ ।

उनले देशको समृद्धि र जनताको सुखप्राप्तिका लागि तिनै शहीदका सपनालाई मूर्तरुप दिन बितेका केही वर्षमा नवनिर्माणको चौतर्फी अभियान चलाएको समेत बताएका छन् । प्रधानमन्त्रीले शहीद दिवसले सबैलाई समाज र राष्ट्रको हितमा निःस्वार्थरुपमा सक्रिय हुन प्रेरणा मिलोस् भन्ने कामना पनि गरेका छन् ।