विश्व

अमेरिकी ब्लगरको हत्या मुद्दामा इस्लामिक लडाकु समूहका ५ जनामाथि मृत्युदण्डको फैसला

ढाका । बंगलादेशको अदालतले इस्लामिक लडाकु समूहका ५ सदस्यलाई मृत्युदण्डको फैसला सुनाएको छ ।

अमेरिकी ब्लगर अभिजित रोयको ६ वर्षअघि हत्या गरेको अभियोगमा उनीहरुलाई मृत्युदण्डको फैसला गरेको हो । बंगलादेश मूलका अमेरिकी रोय २०१५ मा बंगलादेश फर्किएका बेला उनको हत्या भएको थियो ।

उक्त घटनाको मुद्दामा एक जनालाई आजीवन कारावास तोकेको छ । अधिकारीहरुका अनुसार ती ६ जना व्यक्तिहरु नै अलकायदा सम्बद्ध घरेलु लडाकु समूह अन्सार उल्लाह बांग्लाका सदस्य हुन्। एक दर्जन ब्लगर र धर्मनिरपेक्षतावादी अभियन्ताहरुको हत्यामा उनीहरु संलग्न रहेको प्रहरीले जनाएको छ ।

यद्यपि ती ६ अभियुक्तले उच्च अदालतमा निवेदन दिनसक्ने जनाइएको छ । इस्लामिक स्टेट वा अलकायदा सम्बद्ध समूहहरुले बंगलादेशमा २०१३ देखि २०१६ बीचमा धर्मनिरपेक्षतावादी अभियन्ता, ब्लगर, धार्मिक अल्पसंख्यकहरुमाथि लक्षित गर्दै सृंखलावद्ध हमला गरेको विभिन्न रिपोर्टले जनाएका छन् । २०१६ को जुलाइमा ढाकास्थित भएको गम्भीर हमलामा २२ जना मारिएका थिए ।