विश्व

अमेरिकाको टेक्साससहित राज्यमा हिमआँधी, कम्तिमा २३ को मृत्यु

CNN

टेक्सास । अमेरिको टेक्सास र यस आसपासका क्षेत्रमा हिमआँधीमा परी कम्तिमा २३ जनाको ज्यान गएको छ । अमेरिकाका मध्य तथा दक्षिणी राज्य आँधिबाट प्रभावित बनेका छन् । टेक्सासमा विजुली काटिएको छ । यसले राज्यभर अन्धकार बनाएको अमेरिकी संचारमाध्यमले जनाएका छन् । मंगलबार आएको आँधीले कोरोना खोप वितरण अभियान प्रभावित बनेको छ । आगामी आइतबारसम्म नै आँधिको असर देखिने भएको छ ।


टेक्सास, लुसियाना, केन्टुकी र मिजौरीसहितका राज्य आँधिबाट प्रभावित छन् । घटनामा कम्तिमा २३ जनाको मृत्यु भइसकेको रिर्पोट आएको छ । नर्थ क्यारोलाइना, ओरेगन राज्य समेत प्रभावित बनेका छन् । बिजुलीको अभावमा चिसो बढेको छ । संचार सम्पर्क समेत विच्छेद भएको छ । केही राज्यले मंगलबार विद्यालय समेत बन्द गराएका छन् ।

चिसो मौसम र तीव्र हावाका कारण मागअनुसार बिजुली आपूर्ति नभएको सरकारी अधिकारीले जनाएका छन् । टेक्सासको तापक्रम माइनस १८ डिग्रीसम्म झरेको छ । हिमआँधीले मेक्सिकोमा पनि प्रभाव पारेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रभावित राज्यहरूमा आपतकालीन सहयोग गर्न प्रशासन तयार रहेको बताउँदै टेक्सासमा आपतकाल घोषणा गरेको संचारमाध्यमले लेखेका छन् ।