समाचार

संसद विघटन राजनीतिक नभई संवैधानिक विषय होः वरिष्ठ अधिवक्ता खरेल

काठमाडौं । वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले प्रतिनिधिसभा विघटन राजनीतिक नभई संवैधानिक विषय भएको बताएका छन् ।

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा बुधबार एमिकस क्युरीका तर्फबाट सुझाव दिँदै अधिवक्ता खरेलले संसद विघटन राजनीतिक नभई संवैधानिक प्रश्न भएको बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन राजनीतिक विषय भएकाले कानुनी ‘रिभ्यु’ हुन नहुने लिखित जवाफ पेस गरेका थिए । उनले सार्वजनिक अभिव्यक्तिमा पनि आफूले राजनीतिक कदम चालेकाले अदालतले त्यसमा हात हाल्न नहुने भनेका थिए ।

‘प्रतिनिधिसभा विघटन संवैधानिक प्रश्न हो । कसलाई मन्त्री नियुक्त गर्ने भन्नेमा प्रधानमन्त्रीको राजनीतिक निर्णय हुन्छ तर संसद् विघटन राजनीतिक विषय होइन । यसलाई राजनीतिक प्रश्न भन्न मिल्दैन, यो संवैधानिक विषय हो,’ अधिवक्ता खरेलले भने ।

संसद् पुनःस्थापना भए अर्को प्रधानमन्त्री बन्ने विकल्प छ कि छैन भन्ने विषय भने राजनीतिक भएको खरेलले बताए । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

त्यस निर्णयका विरुद्ध सर्वोच्च अदालतमा १३ वटा निवेदन परेका थिए । ती निवेदनमाथि माघ ४ देखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा नियमित सुनुवाइ भइरहेको छ ।