विज्ञान प्रविधि

अष्ट्रेलियामा चुलियो फेसबुक र सरकारबीच विवाद, न्यूज फिडमा समाचार शेयर गर्न बन्द

सिड्नी । अष्ट्रेलियाको सरकारले कडा कानून ल्याएर फेसबुकमाथि नियन्त्रणको प्रयास गरेपछि सामाजिक सञ्जाल फेसबुकले समेत आफ्नातर्फबाट प्रतिक्रियात्मक कदम चालेको छ । फेसबुकले तत्कालका लागि अष्ट्रेलियामा न्युज फिडमा समाचार पढ्न र सेयर गर्न नपाउने गरी बन्द गरेको छ । उता, अष्ट्रेलियाको सरकारले नयाँ कानून बनाइरहेको छ ।

जहाँ फेसबुक र गुगलजस्ता माध्यममा संचरमाध्यमका सामाग्री राखेबापत् सम्बन्धी संचारमाध्यमलाई पैसा दिनुपर्ने प्रावधान समेटिँदैछ । उता, फेसबुकले भने आफुले आफै कुनै समाचार नराख्ने भन्दै बढी मानिसहरुसम्म पुगोस भनी स्वयमः मिडिया मालिकहरुले नै समाचार शेयर गर्ने बताएको छ ।

यस्तो अवस्थामा फेसबुकले मिडियालाई पैसा तिर्न नसक्ने उसको तर्क रहेको छ । यही कानूनको विरोधमा फेसबुकले समाचार शेयरमा रोक लगाइदिएको हो । फेसबुकमा समाचार सेयर गरेकै आधारमा सन् २०२० मा अष्ट्रेलियन मिडिया हाउसहरुले ४०७ मिलियन अष्ट्रेलियन डलर कमाएको दावि समेत फेसबुकले गरेको छ ।

त्यसो त यो कानून बनाउने दौरान नै फेसबुकले यस्तो कदम चाल्ने चेतावनी भने दिइसकेको थियो । गुगल समेत यो कानूनको विरोधमा छ । विधेयक अहिले त्यहाँको सिनेटमा छलफलको क्रममा रहेको छ । संचारमाध्यमसहित सरकारी वेवसाइटका सूचना समेत फेसबुकमा बन्द भएका छन् । यसले सरकार अझ अफ्ठयारोमा पर्ने देखिएको छ ।
एजेन्सी