फिचर

वैदेशिक व्यापार : नेपालको अमेरिकासँग सबैभन्दा सन्तुलित व्यापार

काठमाडौं । नेपाल उच्च व्यापार घाटा भएको मुलुक हो । नेपालले औसतः १ सय रुपैयाँको व्यापार गर्दा ९२ रुपैयाँ बराबरको आयात गर्छ भने ८ रुपैयाँ बराबरको मात्र निर्यात गर्छ । यसले व्यापार घाटा चुलिएको छ । तर, अमेरिकासँगको व्यापार भने सन्तुलित रहेको पाइएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ७ महिनामा नेपालले अमेरिकाबाट ९ अर्ब ४५ करोड रुपैयाँ बराबरको सामान आयात गरेको छ । यो अवधिमा नेपालबाट अमेरिका भने ७ अर्बको सामान निर्यात भएको छ । यसले नेपाल र अमेरिकाबीच सन्तुलित व्यापार रहेको देखाएको छ । दुई मुलुकबीचको व्यापारमा नेपालतर्फ मात्र २ अर्ब ४५ करोड रुपैयाँ हाराहारीको मात्र व्यापार घाटा रहेको छ ।

तर, समग्र वैदेशिक व्यापार घाटा भने उच्च रहेको छ । नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार भारतसँग रहेको छ । सोहीकारण व्यापार घाटा समेत सोही मुलुकसँग ठूलो छ । ७ महिनामा नेपालले भारतबाट ५ खर्ब ३१ अर्ब ९५ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यसअवधिमा निर्यात भने मात्र ४९ अर्ब ९२ करोड बराबर रहेको छ । भारतसँग व्यापार घाटा ४ खर्ब ८२ अर्ब १ करोड रहेको छ ।
यस अवधिमा चीनतर्फ मात्र ५५ करोडको सामान निर्यात हुँदा १ खर्ब १६ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । चीनसँग १ खर्ब १५ अर्ब ५६ करोड रुपैयाँ बराबरको व्यापार घाटा छ ।
बढ्यो आयात
नेपालमा वस्तु आयात भने कोरोना भाइरसको महामारी शुरु हुनु भन्दा अगाडि कै अवस्थामा पुगेको छ । चालु आर्थिक वर्ष २०७७\७८ को सातौं महिना (साउन-माघ)सम्म कुल ८ खर्ब ३ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आवको यसै अवधिमा ८ खर्ब ३ अर्ब ६० करोडको वस्तु आयात भएको थियो । ७ महिनामा नेपालबाट ६९ अर्ब ९१ करोड ७० लाख रुपैयाँ बराबरको मात्र वस्तु निर्यात भएको छ ।


७ महिनाको अवधिमा कुल वैदेशिक व्यापारको आकार ८ खर्ब ७३ अर्ब ५६ करोड पुगेको छ । तथ्यांकअनुसार ७ महिनाको अवधिमा नेपालको व्यापार घाटा ७ खर्ब ३३ अर्ब पुगेको छ । यो गत आवको तुलनामा मात्र ०.६६ प्रतिशत कम हो ।