फिचर

एनआरएनएले खोल्ने विकास कोषको कम्पनी दर्ता प्रक्रिया शुरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा खुल्न लागेको एनआरएन डेभलपमेन्ट फन्डको प्रबन्ध पत्र नियमावली तथा कम्पनी दर्ता प्रक्रिया शुरु भएको छ । यससम्बन्धी कागजातमा आज हस्ताक्षर भएको छ। काठमाडौंमा उपलब्ध संस्थापकका तर्फबाट शुक्रबार हस्ताक्षर सम्पन्न भएको हो ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष तथा संरक्षक जीवा लामिछाने, उपाध्यक्षद्वय डा. बद्री केसी र सोनाम लामा, कोषाध्यक्ष महेश कुमार श्रेष्ठ, सल्लाहकार हरिबोल भण्डारी लगायत डा. खगेन्द्र जीसी, चिरञ्जिीवी थापाले प्रबन्ध पत्रमा हस्ताक्षर गरे ।

यो कम्पनीमार्फत नै नेपालमा कम्तिमा १० अर्ब लगानी भित्र्याउने तयारी संघको रहेको छ । १० अर्ब लगानीका लागि हालसम्म डेढ अर्ब भन्दा बढी रकमको प्रतिबद्धता आइसकेको छ ।

कार्यक्रममा समारोहमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले गैरआवासीय नेपालीले देखेको सपना छिट्टै पूरा हुन लागेको बताए। कम्पनी दर्ताका लागि औपचारिक रुपमा मिलेको सहमतिहरुले गैरआवासीय नेपालीहरुलाई उत्साहित बनाएको उनको भनाई छ । संघका अध्यक्ष कुमार पन्तले नेपालका लागि बहुप्रतिक्षित र ऐतिहासिक दिन भन्दै गैरआवासीय नेपालीलाई नेपालको समृद्धिका लागि योगदान गर्ने बाटो खुलेको बताए।


१० अर्बको कोषमा सरकारले पाँच प्रतिशत अर्थात ५० करोड रूपैयाँ लगानीको प्रतिबद्धता जनाइसकेको छ । संस्थापकहरूको तर्फबाट १० प्रतिशत अर्थात १ अर्ब रूपैयाँ लगानी गर्ने र त्यसमध्येको १ अर्ब ८० करोडको प्रतिबद्धता जुटिसकेको अध्यक्ष पन्तले जानकारी दिए ।

यस अभियानको ८५ प्रतिशत लगानी संसारभरका गैरआवासीय नेपालीले १० डलर र त्यसभन्दा माथि लगानी गर्न पाउनेछन् । दर्ता प्रक्रिया सकिएपछि चाँडै नै आईपीओ जारी गरिने अध्यक्ष पन्तले जानकारी दिए ।