विश्व

माउण्ट केटुमा तीन आरोहीको मृत्यु

Getty Images\file

इस्लामावाद । संसारको दोस्रो अग्लो हिमाल माउण्ट केटू आरोहणमा गएका तीन आरोहीको ज्यान गएको छ । यसको पुष्टी पाकिस्तान सरकारले गरेको छ । फेब्रुअरी महिनाको प्रारम्भ मै आरोहणमा गएका तीन जना वेपत्ता छन् । उनीहरु भेटिने सम्भावना नरहेको भन्दै सरकारले मृत घोषणा गरेको हो ।

पाकिस्तानी नागरिक अलि सद्पारा, आइस्ल्याण्डका जोन स्नोरी र चिलीका जुहाल पाब्लो मोहर बेपत्ता छन् । पाकिस्तानी मौसम विभागका अधिकारीका अनुसार खराब मौसम र लगातार हिमपात भइरहेका कारण सम्पर्कविहीन भएकाहरूको खोजीमा समेत समस्या आएको छ । ती आरोही फेब्रुअरी ५ मा सम्पर्कविहिन भएका हुन् ।

केटू संसारकै खतरनाक हिमाल हो । यहाँ प्रत्येक चार आरोहीमध्ये एक जनाको मृत्यु हुने गरेको इतिहास छ । हराएका आरोही केटूको चुचुरोमा पुगेर फर्किने क्रममा दुर्घटनामा परेको हुनसक्ने अनुमान छ । यसअघि सन् २००८ मा पनि केटु हिमाल आरोहणका क्रममा एकै दिन ११ जना आरोहीको मृत्यु भएको थियो ।