समाचार

आफ्नो निर्णयविरुद्ध फैसला आए आन्दोलन गर्ने प्रधानमन्त्रीको चेतावनी

विराटनगर। प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्ने आफ्नो निर्णयको विपरित हुने गरी सर्वोच्च अदालतबाट फैसला आएमा आन्दोलन गर्ने चेतावनी दिएका छन् । त्यसका लागि तयार रहन समेत उनले कार्यकर्तालाई आग्रह गरेका छन् । ‘सेटिङ फेटिङ’ भएर प्रतिनिधिसभा विघटन अदालतबाट सदर नभए आन्दोलनमा जाने उनको चेतावनी छ ।

शनिबार आफ्नो पक्षको नेकपाले विराटनगरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । प्रतिनिधिसभा विघटन पुनर्स्थापना गर्न ‘सेटिङ’ भइरहेको आरोप समेत उनले लगाएका छन् । यसले उनीमाथि लाग्दै आएको सेटिङमा समेत केही गडबडी भएको संकेत प्रधानमन्त्री स्वयमले गरेका छन् ।

‘सेटिङफेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन,’ उनले भनेका छन् । जनताले चुनाव चाहेको र त्यसमा आफ्नो दलले बहुमत ल्याउने भन्दै उनले संसद पुनस्र्थापनाको पक्षमा फैसला नआउने बताए । देश चुनावमा गइसकेको र प्रधानमन्त्रीलाई चुनाव गराउने अधिकार रहेको भन्दै उनले तोकिएको समयमा निर्वाचन हुने समेत उल्लेख गरे ।