विज्ञान प्रविधि

अमेरिकाको डेनभरमा २४२ यात्रु बोकेको युनाइटेड एयरको जहाज ठूलो दुर्घटनाबाट बच्यो

Photo Source : TWITTER

डेनभर । अमेरिकाको डेनभरमा युनाइटेड एयरलाइन्सको एक जहाज ठूलो दुर्घटना हुनबाट बचेको छ । आकासमै इन्जिन फेल भई आगो लागेको जहाजलाई पाइलटले कुशलतापूर्वक अवतरण गराए । उनको यो बहादरीका कारण २३१ यात्रु र चालक दलका १० यात्रुको ज्यान बच्न सफल भएको छ । यो घटना शनिबारको हो ।

२३१ यात्रु र १० जना चालक दलका सदस्य बोकेर डेनभरबाट होनोलुलुका लागि उडेको युनाइटेड एयलाइन्सको बोइङ ७७७-२०० जहाजको दाँयातर्फको इन्जिनमा टेकअफ हुनासाथ समस्या देखिएको थियो । इन्जिनमा समस्या आएको पत्ता पाएका क्याप्टेनले तत्काल एटीसीसँग सहयोग मागेका थिए ।

पाइलटले यो जहाजलाई थप अगाडी बढाउने फैसला लिएनन र डेनभरमै आपतकालिन अवतरण गराए । अमेरिकी संचारमाध्यमहरुका अनुसार डेनभर अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार दिउँसो पौने १ बजे उडेको जहाज साढे १ बजे विमानस्थलमै आपतकालिन अवतरण गराइएको थियो ।

आगो लागेका इन्जिनका टुक्रा आकासबाटै जमिनमा खसेको समेत बताइएको छ । डेनभर विमानस्थलले जहाजका सबै यात्रु र चालक दलका सदस्य सकुशल रहेको बताएको छ । अमेरिकाको नेशनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डले जहाजमा आएको खराबीबारे अनुसन्धान गर्ने समाचारमा उल्लेख छ ।