समाचार

संसद पुनर्स्थापनाको खुसीयालीमा देशभर दिपावली, सामाजिक संजालमा सर्वोच्चको प्रशंसा

Photo : BBC

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गरेपछि देशभर दिपावली शुरु भएको छ । आज माइतिघर मण्डलासहितका स्थानमा युवाले भेला भई दिपावली गरेका छन् । उनीहरुले प्रतिगमन पराजित भएको भन्दै सर्वोच्च अदालतको निर्णयको स्वागत समेत गरेका छन् ।

सामाजिक संजालमा सर्वोच्च अदालत, प्रधानन्यायाधीस र न्यायाधीसहरुको प्रशंसा शुरु भएको छ । नेता तथा कार्यक्रताले नेपालमा न्याय नमरेको तथा अब देश संविधान अनुसार आफ्नो बाटोमा अगाडी बढ्ने अपेक्षा समेत गरेका छन् । यद्दपी फैसला आफ्नो पक्षमा नआएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चाल्न सक्ने अर्को कदमप्रति भने सर्वसाधारणमा अझै पनि संसय रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चौतर्फी आलोचनाका बीच राजिनामा माग भएको छ । तर, उनी भने भिड्ने मनस्थितिमै छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले तत्काल राजिनामा दिने छैनन् । प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयनमा जाने भएका छन् ।