समाचार

कोरोना त्रासले ‘फिक्का’ बनाईदियो यो वर्ष पनि होली, वसन्तपुरमा देखियो सुनसान

काठमाडौं । यो वर्षको होलीपनि कोरोना त्रासले नै फिक्का बनाईदिएको छ । यस वर्षको फागुमा त कोरोना त्रास कम होला र धुमधामसँग पर्व मनाउन पाइएला भन्ने थियो, तर अवस्था पुनः त्रासपूर्ण हुन गएको छ।

हरेक वर्ष होलीको दिन पाइला टेक्नसम्मको ठाउँ नहुने वसन्तपुर यो वर्ष मा खासै भिडभाड देखिन्न । विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण यस पटक पनि बढ्दै गएपछि देशको विभिन्न ठाँउमा यसको असर देखिएको छ ।

हरेक वर्ष काठमाडौंको प्राय सबै चोकमा एक हप्ता अघि नै आउने होलीको रौनक यो वर्ष भने होलीकै दिनपनि कमै देखिएको छ । गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्लाका सार्वजनिक स्थानमा होली खेल्न निषेध गरेको छ । यसको प्रभाव स्वरुप वसन्तपुर सुनसन देखिएको हो ।

यस पटकपनि मानिसहरु होली मनाउने ‘मुड’ मै देखिएनन् । विगत विगतका वर्षमा मदिरा कम्पनीको प्रायोजनमा युवा लक्षित होली कार्यक्रम गर्नेहरु पनि यसपालि थन्किएका छन्। तारे होटलले होली कार्यक्रम राखेका छैनन्।

कोरोनाको त्रासले बजारमा पनि चहलपहल घटेको छ। पिचकारी, लोला बनाउने प्लास्टिक तथा अबिरको व्यापार यसपालि निराशाजनक रहेको व्यापारीले बताएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारत, बेलायत, फ्रान्सलगायत युरोपेली मुलुकमा कोभिड-१९ को संक्रमणको दरमा वृद्धि भएको र नेपालमा पनि प्रभाव पर्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

काठमाडौं प्रशासनले पनि संक्रमणको जोखिम उच्च रहेको भन्दै होली पर्वलाई आफ्नो घर भित्रै सीमित गरी सामाजिक सांस्कृतिक मर्यादानुसार खेल्न भनेको छ।

बाहिर हिँड्दा अनिवार्य मास्क लगाउन, भौतिक दूरी कायम गर्न, स्यानिटाइजरको प्रयोग गर्न र स्वास्थ्य मापदण्डलाई पालना गर्न आग्रह गरिएको छ।

फागु वा होली भन्ने बित्तिकै रंग र भंग अनि प्रेम र प्रणयका सन्दर्भ जोडिन्छन्। पौराणिक कथाअनुसार आगोबाट भष्म नहुने वरदान पाएकी होलिका दाह भएको घटनाको स्मरणमा खुसियाली मनाउने पर्व नै होली हो।

पुराण प्रसिद्ध दैत्यराज हिरण्यकश्यपुले भगवान हरिका भक्त आफ्नो छोरा प्रह्लादलाई नष्ट गर्न बहिनी होलिकाको काखमा राखेर अग्निकुण्डमा होम्छ। उक्त षड्यन्त्रमा वरदान पाएकी भए पनि होलिका आफैं जलेर नष्ट हुन्छे। प्रह्लादलाई केही हुँदैन। असत्यमाथि सत्यको विजयलाई हर्षोल्लासपूर्वक मनाउने पर्व नै होली हो भन्ने मान्यता छ।