समाचार

मह जोडीले पाए महामुर्खको उपाधि

जनकपुर । हास्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य (मह जोडी) ले महामुर्खको उपाधि पाएका छन् । मिथिला नाट्य परिषद्ले हरेक वर्ष होली पर्वमा यो उपाधि दिने गर्छ । यो वर्षको महामुर्खको उपाधि महजोडीलाई दिइएको हो । आइतबार जानकी मन्दिर प्राङ्गणमा एक कार्यक्रम आयोजना गरी उपाधि प्रदान गरियो ।

परिषद्ले यो वर्षको मुर्ख शिरोमणीको उपाधि प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई दिएको छ । चित्रकार एसपी सुमनलाई तरघुस्का, मैथिली विकास कोषका अध्यक्ष जिवनाथ चौधरीलाई पटमुर्ख, जनता समाजवादी पार्टीका नेता राजिव झालाई बंशकुरहरि, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंहलाई बैशाखानन्द, सञ्चार उद्यमी शंकर साहलाई मुसरीलाल उपाधि दिइएको परिषद्ले जनाएको छ ।

शिक्षक संघ प्रदेशका अध्यक्ष मेघनाथ यादवलाई चौपटानन्द, वरिष्ठ पत्रकार शितल साहलाई ढोरबा, मोडेल कलेजका संचालक वीरेन्द्र साहलाई लोरहाशंकर, हरित अभियानी सुरेश शर्मालाई हराशंख, साहित्यकार एवं पत्रकार अशोक दत्तलाई बोलानन्द, महिला नेतृ बिन्दु ठाकुरलाई खापसुरती, प्रशिक्षक बिरेन्द्र कर्णलाई बज्रकटि, डा. सुजित झालाई सिलौटानन्द उपाधि प्रदान गरियो ।