बिचार

बुक बिल्डिङ विधि र नेपालको पूँजी बजार

सरोज सिग्देल
टेक्सस

बुक बिल्डिङ विधि पुँजी बजारको दायरालाई फराकिलो पार्नका हेतु राम्रा कम्पनीहरुलाई आइपीओमा आकर्षित गर्दै पुँजी बजारमा भित्र्याउने उद्देश्यले सन् १९९५ मा अमेरिकाबाट शुरु गरिएको पद्दति हो । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम २५ ग बुक बिल्डिङबाट प्रारम्भिक सार्वजनिक निष्कासन गर्न सक्ने व्यवस्था गरी यस सम्बन्धि थप प्रकृयागत व्यवस्थाहरु निर्देशिकामा तोकिएबमोजिम हुने व्यवस्था गर्ने सन्दर्भमा बुक बिल्डिङ विधिलाई कार्वान्वयनमा ल्याउन सञ्चालक समितिको २०७७ साल श्रावण महिना बसेको बैठकले यस सम्बन्धी निर्देशिका लागू गर्दै कम्पनीहरूलाई पूँजीबजारको बाटो खोलिदिएको थियो l

कुनै पनि कम्पनीले आफ्नो आइपीएल बिक्री गर्नका निमित्त मूल्य तोकेको हुन्छ उक्त मूल्य तोक्ने सम्बन्धमा विभिन्न विधिहरु भएता पनि मुख्य रुपमा दुईवटा विधिहरू बढी प्रचलनमा रहेको पाइन्छ ।

पहिलो; निश्चित मूल्य बिधि र दोश्रो; बुक बिल्डिङ विधि l
निश्चित मूल्य बिधि नेपालको बजारमा निकै प्रचलित र परम्परागत विधि हो । आईपीओ किन्दा कम्पनीले तोकेको मूल्यमा आइपीओ खरिद गर्नुपर्ने हुन्छ । सामान्यतया नेपालमा प्रतिकित्ता सेयरको मूल्य रु. १०० तोक्ने गरेको पाइन्छ तर केही कम्पनीहरुले प्रिमियममा पनि शेयर निष्कासन गर्ने गरेका छन्, जसलाई प्रिमियम निष्काशन भनिन्छ l प्रिमियममा निष्काशन गर्दा धितोपत्र बोर्डले एउटा फर्मुला दिएको हुन्छ; जस अन्तर्गत मूल्य निर्धारण हुन्छ र सोही मुल्यमा लगानीकर्ताले शेयर खरीद गर्नु पर्ने हुन्छ l यसमा विधिमा लगानीकर्ताको संलग्नता रहँदैन। उदाहरणको लागि शिवम् सिमेन्ट र रुरु जलविद्युतलाई लिन सकिन्छ l शिवम् सिमेन्टले रु. ३०० मूल्यमा निष्कासन गरेको थियो भने रुरु जलविद्युतले रु. १२० रुपयाँमा निष्काशन गर्ने तयारी गरिरहेको छ l प्रिमियम मूल्यमा निष्काशन गरिएको भएतापनि यो पनि निश्चित मूल्य विधि नै हो l

बुक बिल्डिङ विधिमा लगानीकर्ता आफैंले मूल्य निर्धारण गर्ने हुनाले यसलाई आधुनिक र वैज्ञानिक विधि रुपमा परिभाषित गरिएको छ l अर्थात योग्य संस्थागत लगानीकर्ताको मागको आधारमा प्राथमिक बजारमा निष्कासन गरिने धितोपत्रको वास्तविक एवम् न्यायोचित मूल्य निर्धारण गर्ने विधि नै बुक विल्डिङ विधि हो । हालसम्म नेपालमा ७४ वटा कम्पनीहरुले संस्थापक लगानीकर्ताको मान्यता प्राप्त गरिसकेका छन् l
बुक बिल्डिङ एक किसिमको लिलामी प्रक्रिया हो जसमा ७४ मध्येमा कम्तीमा पनि १० वटा कम्पनीले सहभागीता जनाउनुपर्ने हुन्छ अन्यथा मान्यता पाउँदैन । धितोपत्र बोर्डबाट मान्यताप्राप्त योग्य संस्थागत लगानीकर्ता अरुसँग भएका विज्ञ टिमले सेयर जारी गर्न चाहेको कम्पनीको वित्तीय अवस्था, भावी कार्यदिशा, रिटर्नको संभावना आदी अध्ययनको आधारमा मुल्य प्रक्षेपण गर्ने गर्दछ l यसमा कम्पनीले सार्वजनिक निष्कासन गर्न चाहेको कुल धितोपत्रमध्ये सीमित कित्ताको मात्र लिलामी गरी कट अफ मूल्य निर्धारित गरिन्छ l यसैको आधारमा बाँकी धितोपत्रको सार्वजनिक निष्कासन गरिन्छ । यस विधिमा कम्पनीले नै प्राइस रेञ्ज दिई आधारभूत विश्लेषणका आधारमा बिडिङ गराउँछ । मूल्य निर्धारण गर्ने विधिका रूपमा समेत लिइने बुक बिल्डिङ विधिमा स्वतन्त्र रूपमा रहेको बजारले नै कम्पनीको मूल्य निर्धारण गर्दछ । निष्काशनकर्ता कम्पनी र निश्कासन तथा बिक्री प्रवन्धकले आवश्यक छलफल गरी एउटा मुल्य निर्धारण गरिन्छ ।उक्त मूल्यमा २०% थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र तल्लो सीमा आधार मूल्यमा २०% घटाउँदा हुने रकमलाई पल्लो सीमा कायम गरिन्छ । त्यस मूल्यमा विडिङ गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिइन्छ । बोर्डबाट स्वीकृति पाएपछि उक्त सीमामा रहेर योग्य संस्थागत लगानीकर्तालाई बोलकबोलमा सहभागी गराइन्छ । बोलकबोलका आधारमा कट अफ मूल्य निर्धारण हुन्छ। तसर्थ सर्वसाधारणले पनि कम्पनीको सबै पक्ष बुझ्ने अवसर पाउँछन् र निर्धक्क भएर लगानि गर्न सक्दछन् l

कस्ता कम्पनीले यो विधि मार्फत आइपीओ निष्कासन गर्न सक्दछन् ?

१) आइपीओ निष्कासन गर्ने कम्पनीले विगत ३ आर्थिक वर्षमा लगातार मुनाफा आर्जन गरेको हुनुपर्दछ l
२) कम्पनीको साधारण सभाबाट यसका विधि मार्फत आइपीओ निष्कासन गर्ने भनि पारित भएको हुनुपर्नेछ l
३) क्रेडिट रेटिङ कम्पनीबाट औसत वा सोभन्दा माथिको रेटिङ पाएको हुनुपर्दछ l
४) कम्पनीको प्रति शेयर नेटवर्थ कम्पनीको चुक्तापूँजी को १५० प्रतिशतभन्दा कायम भएको हुनुपर्दछ l

तर यस विधिबाट जारी भएका कम्पनीहरूको आइपीओमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था बुक विल्डिङ निर्देशिका, २०७७ गरिएको छ l ४० प्रतिशत शेयर योग्य संस्थागत लगानीकर्ता र बाँकि ६० प्रतिशत शेयर सर्वसाधारणको लागि निष्कासन गरिन्छ जसका कारण सर्वसाधारणको पहुँचमा भन्दा माथि हुन सक्दछ भन्ने आरोप लागे तापनि नेपालको सन्दर्भमा बास्तविक क्षेत्रका कम्पनीलाई सुचिकृत गर्नका लागी बुक बिल्डिंग विधि आइसब्रेकर लिन सकिन्छ । यसका साथै संस्थापक लगानीकर्ता मूल्यमा १० प्रतिशत छुट गरिने भएकाले सर्वसाधारणले पनि ढुक्क भएर आवेदन दिन सक्दछन् l

सर्वोत्तमले निर्धारण गरेको कट अफ मूल्य रु ७५० उचित छ त ?

पहिलो पटक नेपालको पुँजीबजारमा बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन गर्न लागेको यस कम्पनीले आफ्नो व्यावसायिक उत्पादन सुरु गरेपछि नै नाफा कमाउँदै भएको छ भने इपीएस पनि राम्रै छ । विगत ३ वर्षको औसत मुनाफा (कर पछिको) वार्षिक १ अर्ब ४ करोड भन्दा बढी भएको कम्पनीको दाबी छ । साथै प्रतिसेयर आम्दानि ५२ रुपैयाँ रहेको र आगामी ३ वर्षको औसत प्रतिसेयर आम्दानि ४५ रुपैयाँभन्दा बढी हुने अनुमान गरेको छ ।
अहिले वार्षिक ३० प्रतिशत मुनाफा दिने कम्पनीहरूको शेयरमूल्य हेर्नेहो भने १२ सयभन्दा माथि देखिन्छ र यस कम्पनीले आइपीओबाट प्राप्त रकममध्ये ४०% ले ऋण भुक्तानी गर्ने त्यसपछि कम्पनी शतप्रतिशत ऋण मुक्त हुनेछ । बाँकी रकमले उत्पादन क्षमता दोब्बर गर्ने योजना रहेको कम्पनीको भनाई छ । अबको ४ वर्षपछि वार्षिक प्रतिफल ७५% भन्दा बढी हुन जाने प्रक्षेपण गरेको छ । आइपीओ जारी भएपश्चात पहिलो ३ महिना भित्रै १०% बोनस सेयर र २५% नगद लाभांश दिने निश्चित भएको कम्पनीको भनाई छ । मनन गरौं, के यो कम्पनीको मूल्य उचित छ वा छैन ?

बजार विविधिकरण गर्ने नयाँ औजारको रूपमा बोर्डले विश्व बजारहरुमा स्थापित बुक बिल्डिङका विभिन्न मोडलको अध्ययन गरी अघिसारेको यो विधि नेपालको बजार सुहाउँदो विधि हो भन्ने उनको दाबी छ l तसर्थ यस विधिमा सरोकारवाला निकायहरुले इमान्दारितापूर्वक काम गर्ने हो भने यो पुँजी बजार बिकास र बिस्तारको क्षेत्रमा कोसेढुङ्गा सावित हुन सक्दछ l
यतिबेला मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने एक प्रमुख क्षेत्र पुँजी बजार पनि हो तसर्थ सरकारले पनि पुँजी बजारलाई प्राथमिकताको क्षेत्र घोषणा गर्दै नयाँ आम्दानिका श्रोतका रुपमा पहिल्याउन सक्नुपर्दछ । यसैगरी अन्य वित्तीय उपकरणलाई पनि समयमै पहिचान गरी आवश्यक नीति नियम कानुन तर्जुमा गर्दै बजारको विकास र विस्तारमा लाग्न सकेको खण्डमा पुँजी बजार एक दिगो राजस्वको श्रोत बन्न सक्दछ l

(लेखक पुँजी बजारका अध्ययेता हुन्)