समाचार

दोहोरो कीर्तिमान बनाउँदै सेयर बजारले गर्‍यो ‘२०७७’ को बिदाइ

काठमाडौं । बैंक र विकास बैंक चम्किँदा सेयर बजारले फेरि नयाँ रेकर्ड बनाउन थालेको छ । सोमबार इतिहासकै उच्च विन्दुको रेकर्ड बनाएको नेप्सेले त्यो रेकर्ड तोड्दै आज नयाँ कीर्तिमान बनाएको हो ।

नेप्सले २७१४ विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । नेप्सेले २७०० विन्दु नाघेको इतिहासमै पहिलोपटक हो । यसअघि सोमबार नेप्से इतिहासकै सर्वाधिक २६९१ विन्दुको रेकर्ड बनाएको थियो ।

यस्तै, नेप्सेले सूचकमा नयाँ रेकर्ड बनाएको दिन सर्वाधिक बजार पूँजीकरणको पनि रेकर्ड बनाएको छ । नेप्सेमा सूचीकृत कम्पनीहरुको बजार पूँजीकरण ३७ खर्ब ५८ अर्ब नाघेको छ । यो हालसम्मकै सर्वाधिक हो भने देशको कुल जीडीपीभन्दा पनि बढी हो ।

आज सेयर बजार मापक सूचक नेप्से २३.२३ अंकले बढेर २७१४.७९ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०९ कम्पनीको ७ अर्ब १४ करोड ३१ लाख ५१ हजार रुपैयाँ बराबरको १ करोड ४६ लाख ९१ हजार ६४३ कित्ता सेयर किनबेच भएका छन् ।

मंगलबार कारोबारमा आएका १३ वटा समूहमध्ये ६ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ७ वटा समूहको परिसूचक राताम्मे भएका छन् । विकास बैंक बीमा समूहको परिसूचक सबैभन्दा धेरै ९५.४२ अंकले बढेको छ भने निर्जीवन बीमा समूह सबैभन्दा धेरै ८२.९२ अंकले घटेको छ ।

आज कारोबारमा आएका २०९ कम्पनीमध्ये १०६ कम्पनीको सेयर मूल्य बढेको छ भने ८९ कम्पनीको मूल्यमा गिरावट आएको छ । १४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज नेपाल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको २२ करोड ९५ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै नबिल बैंक २० करोड र एनआइसी एशिया बैंक १७ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

दोहोरो अंकले बढेको बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । एनआइसी एशिया लघुवित्त, माउन्टेन इनर्जी, ज्योति लाइफ इन्स्योरेन्स, छ्याङ्दी हाइड्रोपावर र सिन्धु विकास बैंकका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

बढ्दो बजारमा आज ल्गोबल आइएमई लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ४.२७ प्रतिशत गुमाएका छन् ।